रासायनिक मलले माटो बिगारेपछि जैविक मल बनाउदै किसान


सरिता चलाउने, सल्यान ।
सल्यानमा रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास गर्दै गएपछि जिल्लाका किसानहरु जैविक मल तिर आर्कषित हुन थालेका छन् । गाउँघरमै पाइने वनस्पतिबाट खेतबारीमा लाग्ने रोग किरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक मल बनाउन किसानहरुको आर्कषण बढेको हो ।
रासायनिक विषादीहरुले सुरुका केही वर्षहरुमा उत्पादन बढाएपनि विस्तारै माटोको उबर्रा शक्ति हराउने र माटोको अम्लियपन बढ्न थालेपछि आफुहरु रासायनिक मल छोडेर घरायसी रुपमा बनेको जैविक झोलमल तर्फ लागेको छत्रेश्वरी गाउँपालिका वडा न ५ चोरपानीकी किसान रुपा कंवरले बताइन । उनले भनिन “ पहिले जुन सुकै बाली लगाउदा पनि युरिया डिएपि हाल्थौ उत्पादन पनि मात्रै भई रहेको थियो तर ५ –६ वर्षपछि उत्पादन घट्न थाल्यो कृषि प्राविधिकलाई सोध्दा माटोमा रासायनिक मलका कारण अम्लियपन बढेकाले उत्पादनमा कमि आएको बताएपछि जैविक विषादी र मल प्रयोग गर्न थाले ।
जैविक मल बनाउदा कम खर्च लाग्ने र यसको प्रयोगबाट कुनै हानी नहुने भएपछि चोरपानीको सिंगो गाउँलेनै जैविक झोल मलको प्रयोग गरी रहेको अर्का किसान दिपेन्द्र कंवरले बताए । उनले भने “ जैविक विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट पनि कुनै हानी हुदैन भनेर हामीलाई पहल भन्ने कार्यक्रमले सिकायो । यसबाट कुनै असर नहुने बुझेपछि गाउँका सबै किसानहरु जैविक विषादीको प्रयोग बढाएका छन् । तरकारीमा पुर्ण अग्र्यानिक बनाएका छौ भने बालीनालीमाम रासायनिक मलको प्रयोग घट्दै गएको छ ।
जैविक विषादी प्रयोग गर्दा केही वर्ष उत्पादन रासायनिक मल हालेको भन्दा कम भएपनि अहिले क्रमश उत्पादनमा वृद्धि आउन थालेको रामपुर गाउँपालिका वडा न २ सिमलकुनाका किसान नारायण पंगालीले बताए ।
रासायनिक मलको अनाधिकृत प्रयोगका कारण माटोको अम्लियपना बढ्दै गइ रहेको समयमा जैविक विषादी तथा मल प्रयोग गर्न किसानहरुलाई आग्रह गरिएको पहल कार्यक्रमका कृषि कार्यक्रम अधिकृत ऋिषीराज वलीले बताए । रासायनिक मलको प्रयोग गर्दा उत्पादन पनि विस्तारै घट्नुका साथै मानविय स्वास्थ्यमा पनि असर गर्ने भएकाले हामीले जैविक विषादीको प्रयोगलाई विशेष जोड दिदै आइरहेका छौ । गाउँघरमै पाइने तीतेपाती, सिस्नो, असुरो, टिमुर, निम, खुर्सानी, बकाइनो लगायतका वनस्तपतिबाट बनाइने भएकाले किसानहरुको आर्कषण पनि बढि रहेको छ ।