पहिरोको जोखिम बढेपछि पुरै गाउँलेको पालमै बास

0
Shares

कालीवहादुर मल्ल
कालिकोट साउन २५ । जिल्लाको शुभकालिका गाउँपालिका–६ हाउडीगाउँमा पहिरो जोखिम बढेपछि गाउँलेहरु गाउँ छाडेर चौरमा बस्न थालेका छन् । गाउँ माथिको पहिरो निरन्तर खस्न थालेपछि गाउँलेहरुले नजिकैको खुल्ला चौरमा बस्न थालेका हुन् ।

हाउडी गाउँमा १ सय ७६ दलित परिवार गाउँ माथिबाट निरन्तर पहिरोका कारणले ढुङ्गा खस्न थालेपछि चौरमा बस्न थालेका छन् ।

गाउँ माथिबाट निरन्तर पहिरो खस्न थालेपछि आफुहरुलाई राती कति बेला पहिरोमा पुरिने हौं भन्ने चिन्ता लाग्ने गरेका कारणले पहिरोबाट बस्नका लागि चौरमा पाल टागेर बस्न थालेको स्थानीय बलबहादुर बि.क.ले बताए । ‘रातदिन घर माथिबाट पहिरो खसिरहन्छ ।’ उनले भने,‘कति बेला मरिने हो भन्ने डर लागेर चौरमा बस्न थालेका छौं ।’

पानी पर्दा साथ बस्तीको माथिल्लो भागबाट निरन्तर पहिरो सहित ढुङ्गा खसिरहेकोले गाउँपालिकाले सुरक्षित स्थानमा अस्थायी पाल हालेर बस्ती बसालिएको सुरक्षित बस्ती बसाउनका लागि केन्द्र र प्रदेश सरकारसँग पहल चालिएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘अहिले अस्थायी रुपमा सुरक्षित बस्नका पाल सहयोग गरेर चौरमा राखेका छौं ।’ उनले भने,‘यो समस्याको दीर्घकालीन सामाधानका लागी प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरेका छौं ।’

पहिरोका जोखिममा रहेको बस्तीलाई तत्कालका लागि त्रिपाल, ओछ्याउनका मेटिस र केही खाद्यान्न तथा लुगाफाटोको ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले बताए । ‘तत्कालका बस्ती सुरक्षित स्थानमा बसाल्नका लागि त्रिपाल, खाद्यान्न लगाएतका लुगाफाटोको ब्यवस्था गरेका छौं ।’ उनले भने,‘दिर्घकालिन रुपमा अन्य दाताहरुको केही सहयोगको आवश्यकता रहेको छ ।’

खुल्ला चौरका हस्तारण गरिएको सबै निम्न आयस्रोत भएका दलित बस्ती भएका कारणले खानबस्न लगाएतको समस्या रहेका स्थानीय नरपति बि.क.ले बताए । ‘हामी खुल्ला चौरमा बसेका छौं ।’ उनले भने,‘यहाँ खानबस्न लगाएतका समस्या रहेका छन् ।

यसभन्दा अघि बि.स. २०७२ भदौंमा यसै गाउँमा पहिरो आउँदा २७ जनाको खेतीयोग्य जमिन र २५ जनाको घर भत्काएको थियो भने त्यस बेला घर भत्किने २२ जना दलितको घर बस्ती परेका थिए ।