मन्त्री र नेताद्वारा बौद्ध–जोरपाटी सडकको निरीक्षण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ बौद्ध–जोरपाटी–शाँखु सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ।

विहीबार दिउँसो गरिएको स्थलगत निरीक्षणमा मन्त्रीको साथमा पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारहरु सहभागि थिए ।

३ वर्षअघि सडक विस्तार सुरु गरिएको यस सडक खण्ड हालसम्म पनि कुनै प्रगति हुन नसकेपछि स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । १३ किलोमिटर यस सडक खण्डमा पानी पर्दा सडकमै ताल बन्ने गरेको र घाम लाग्दा धूलोले यात्रा गर्न समेत स्थानीयलाई सकस परेको छ ।

निरीक्षणमा निस्कनु भएका मन्त्री महासेठ र नेता नेपालले ठेकेदार सुकुन्तलाल हिराचनलाई १५ दिनभित्र सडकमा रहेका खाल्टाखुल्टी पुर्न र हिलो हटाउन निर्देशन दिनुभयो ।

मन्त्री र नेताले प्रत्येक १५ दिनमा सडक अनुगमन हुने बताएपछि ठेकेदार हिराचनले १५ दिन पछि अनुगमनमा आउँदा खाल्टाखुल्टी पुरिने जवाफ दिनुभयो । ‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ,’ ठेकेदार हिराचनले बताउनुभयो ।

सर्बाेच्च अदालतको अन्तरिम आदेशका कारण चावहिलदेखि साँखुसम्मको १३ किलोमिटर सडक लामो समयदेखि निर्माण अवरुद्ध छ । मन्त्री महासेठले अदालतको अन्तरिम आदेश नभएको स्थानमा सडक निर्माण काम थाल्न निर्देशन दिनुभएको छ ।