सहकारीको करोडौं अपचलन गर्ने पक्राउ

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
विराटनगर–९ बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारीको करोडौं रुपियाँ अपचलन गरी फरार भएका मुख्य सञ्चालक पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपियाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिव ईश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरी पोखराबाट पक्राउ परेका श्रेष्ठलाई हवाई मार्गबाट विराटनगर ल्याउने तयारी गरिएको छ ।

उनलाई पोखराबाट काठमाडांै र काठमाडांैबाट हवाइमार्ग हुँदै विराटनगर ल्याउने तयारी गरिएको प्रहरी स्रोतको दाबी छ । सहकारीको कराडौं रुपियाँ अपचलन गरी लामो समयदेखि फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको एलोबेरा जुस फ्याक्ट्रीबाट पक्राउ परेको बताइएको छ । विराटनगर– १ बुद्धचौक घरमा भएका श्रेष्ठले सहकारीको करोडौ रुपियाँ अपचलन गरी उनले पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बुझिएको छ ।

लामो समयदेखि विराटनगर– ९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीको १ सय ३८ जना बचतकर्ताको जाहेरीमा २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपियाँ बिगो माग दाबी गर्दै आइतबारसम्म जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको डीएसपी थापाले जानकारी दिनुभयो ।

प्रहरीको अनुसार बचतकर्ताको जाहेरी पर्ने क्रमम बढदै गएको बताइएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसा अपचलन गरेको ७ जना सञ्चालकविरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमध्ये उक्त सहकारीको घोटला प्रकरणको मुख्य सञ्चालक ईश्वर पक्राउ परेका छन् भने अन्य फरार रहेको बताइएको छ ।