जनावरको आतंक घट्दैः चोरी शिकार नियन्त्रित, बासस्थान क्षयीकरण चुनौती

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

प्रदेश–३ मा जंगली जन्तुको आतंकबाट मानवीय क्षतिको संख्या घट्दो देखिएको छ । जंगली जनावरको आक्रमणमा परेर गत आर्थिक वर्षमा १० जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

आव २०७३/०७४ मा १७ जनाको मृत्यु र ३८ जना घाइते भएको क्षेत्रीय बन निर्देशनालय हेटौंडाले जनाएको छ । आव २०७४/०७५ मा जंगली जनावरले पशुधनको क्षति एक सय एक वटा गरेको थियो भने २ सय ४८ जनाको अन्नबाली क्षति गरेको थियो ।

सोवापत् सरकारले एक करोड ६१ लाख ६३ हजार राहतस्वरुप पीडितलाई सहयोग दिएको थियो । आव २०७३/०७४ मा जनावरको आतंकबाट २० वटा पशुधनमा क्षति पुगेको थियो भने २ सय जनाको अन्नबाली नाश गरेको थियो । सोबापत् सरकारले एक करोड १९ लाख ७० हजार पाँच सय रुपियाँ सहयोगस्वरुप दिएको कार्यालयका बन अधिकृत नवराज पुडासैनीले जानकारी दिनुभयो ।

अधिकृत पुडासैनीका अनुसार जंगली जनावरको आतंक कम देखिनुमा कार्यालयबाट निरन्तर गरिएका जनचेतनामूलक कार्यक्रमको प्रभाव तथा व्यक्ति आफैं सचेत हुनु रहेको बताउनुभयो । आव २०७४÷०७५ मा प्राकृतिक कारणले २६ गैंडा र ३ वटा बाघसहित २९ जनावरको मृत्यु भएको पुडासैनीले बताउनुभयो ।

गैंडा, बच्चा पाउन नसकेर र जुधेरसम्म मर्ने गरेका छन् । गएको वर्ष साउन २८ र २९ गते आएको बाढीले बगाएर समेत गैंडा मरे । बुढो भएर मर्ने संख्या त छँदैछ । गैंडाको औसत आयु ४० वर्षको हुन्छ ।

२०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक बनमा तस्करले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करले गैंडा मार्न सकेका छैनन् । तस्करले गैंडा मार्ने क्रम रोकिए पनि प्राकृतिक कारणले भने गैंडा मर्ने क्रम बढेको देखिन्छ । गैंडाको संख्या थपिँदै जाँदा वासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्नसक्ने हुँदा समयमै सजगता अपनाउन अध्ययन थालिएको उहाँले बताउनुभयो ।

पुडासैनीले धेरैजसो गैंडा जुधेर मरेको पाइएको बताउनुभयो । केही वर्षयता निकुञ्जमा चोरी शिकारी प्रायः नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको उहाँले बताउनुभयो ।