नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरको थाहानगरमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । करिब ४२ रोपनी जग्गामा ६ दशक लामो प्रयासपछि बसपार्क बन्ने भएको हो । दामन÷पालुङमा सवारीसाधन चलिरहे पनि व्यवस्थित बसपार्क थिएन ।
वडा नम्बर ४ स्थित थानाबजारबाट नजिक जग्गामा बसपार्क बनाउन लागिएको नगरप्रमुख लवशेर बिष्टले जानकारी दिनुभयो । बसपार्कको बाटोका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट बिनियोजन गरिएको छ ।
बसपार्कसम्म पुग्ने सडकको कुरामा बहस भइरहेको र केही दिनमै सहमति हुने नगरप्रमुख बिष्टले बताउनुभयो । बसपार्कसम्म पुग्ने सडकका लागि स्थानीयसँग जग्गाको विषयमा छलफल नटुङ्गिएका कारण काम अगाडि बढाउन नसकिएको हो । नगरप्रमुख बिष्टले बसपार्कको डीपीआर तयारीका लागि सहरी विकास मन्त्रालयमा पत्राचार भएको छ ।
प्रस्तावित बसपार्कमा व्यावसायिक कम्प्लेक्स बनाउने नगरपालिकाको योजना छ । बजारका साँघुरा सडकमा सवारी पार्किङ गर्नुपरेका कारण नगरबासीले सास्ती भोग्नु परेको छ ।
थाहानगरबाट दैनिक हेटौंडा र काठमाडौंका लागि एक दर्जन बढी बस चल्ने गरेका छन् । तरकारीको पकेट क्षेत्र भएका कारण मालबाहक सवारीको चाप बढ्दै गएको नगरप्रमुख बिष्टले बताउनुभयो ।











प्रतिक्रिया