लगातारको बर्षाले भक्तपुरका बिभिन्न भाग डुबानमा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
अविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् ।हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ५० भन्दा बढी घर जलाम्य भएका छन् ।

खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ ।खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो । मनोहरा खोलामा समेत पानीको सतह बढेपछि सुकुम्वासी बस्तीमा पनि खोला पसेको छ । बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र,ठिमी त्यसैगरि भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न भाग समेत जोखिममा परेका छन् ।

बाढीका कारण सयौ घर, मठमन्दिर र विद्यालयहरु डुबानमा परेका छन् ।रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।बाढीले भक्तपुर जिल्लाका बिभिन्न स्थानका भित्री भुभाग समेत प्रभावित भएका छन् ।

बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ । बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

यस अघि गत असार दोस्रो साता आएको बर्षा ,बाढी र पहिरोको कारण भक्तपुरमा ३ जनाको ज्यान जानुका साथै करोडौंको क्षति भएको थियो ।

यता भक्तपुरका भुकम्प पीडितलाई लगातारको बर्षा र बाढीले सताएको छ । शिविरमा बस्दै आएका भुकम्प पीडित सबैको त्रिपाल मक्किएर प्वाल परेकाले वर्षाले उनीहरुको उठीबास लगाएको छ ।भूकम्प पछि त्रिपाल र टेण्डमा आश्रय लिदै आएका पिडितहरुलाई अब वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ । थिलो थिलो र दलदल जमिन र कतै भिरालो र कतै गहिरो भएकाले पीडितहरु हिलोमाथी सुत्नुपर्ने अवस्था आएको शिविरमा बस्दै आउनु भएकी रमिता सुवाल बताउनुहन्छ ।

भक्तपुरका कतिपय भूकम्पपीडितले अझै सुरक्षित आवास बनाउन सकेका छैनन् । कतिपय टहरामुनी नै छन् ।आफ्नो नाममा जग्गाजमिन नहुँदा उनीहरुले अस्थायी टहरासमेत बनाउन सकेका छैनन ।अस्थायी शिविरका टहरा समेत लगातारको झरीले खतरामा परेपछि भुकम्प पीडितको विजोग भएको मात्र छैन उनीहरु आतंकित भएका छन् । शिविरका टहराभित्र आकासबाट परेको पानी र बर्षे भेल समेत पस्ने गरेको छ ।