भुटनदेवी शक्तिपीठमा राणाकालीन घण्ट

0
Shares

हेटौंडा,(नेस) ।
हेटौंडा नगरको पहिचान जनाउने हेटौंडा–१० मा अवस्थित ऐतिहासिक र साँस्कृतिक धार्मिक पर्यटकीय गन्तव्य महाशक्ति भुटनदेवी माताको शक्तिपीठमा विस १९७९ सालमा राणाकालीन समयमा समर्पण भएको घण्टले मन्दिर नेपालको पुरातत्व संरचनाभित्र सूचीकृत हुने देखिएको छ ।

यसका आधारमा सरकारको पुरातत्व विभागमा मन्दिर दर्ताका लागि धर्मप्रेमी भक्तजनबाट सहयोगका लागि मन्दिर अध्यक्ष राममान श्रेष्ठले अनुरोध गर्नुभएको छ । एक सय वर्षअघिका संरचना पुरातत्वमा पर्ने सरकारी निर्णय छ । १९७९ उल्लेख घण्ट फेला परे पनि मन्दिर भने त्यसअघि नै निर्माण भएको स्थानीयले बताएका छन् ।

पुरातत्व विभागको सल्लाहअनुसार पुुराना संरचना खोजी गर्दा घण्ट फेला परेको हो । यदि मन्दिर पुरातत्वभित्र समावेश भए जीर्णोद्धार, संरक्षण र विकासका लागि सरकारी बजेट प्राप्त हुनेछ ।

वर्षौंअघि स्थापना गरी पूँजिदै आएको हेटौंडाको प्रसिद्ध शक्तिपीठ भुटनदेवी मन्दिरमा चरण पूजाको संस्कार विकास गरिएको छ । भक्तजनले अबिर, केसरी, मिठाइ र पानीलगायतले मूर्तिमै पूजा गर्दै आएकाले पित्तलको आकर्षक र ऐतिहासिक मूर्ति खिइँदै गएपछि मन्दिर सञ्चालक समितिले यस्तो निर्णय गरेको थियो ।

उक्त स्थानमा भुटनदेवी माताको चाँदीको चरण राखिएको छ । र, चरणमा मात्र पूजा गर्ने संस्कार विकास गरिएको सञ्चालक समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो । करिब डेढ फिट अग्लो पित्तलको मूर्तिलाई वरिपरिबाट छेकबार गरी मूर्ति स्पर्श हुनबाट जोगाइएको छ ।

‘यसबाट ऐतिहासिक र प्रसिद्ध मूर्तिको संरक्षण हुने विश्वास लिएका छौं,’ अध्यक्ष श्रेष्ठले मूर्ति क्रमशः खिइएर त्यसको अस्तित्व नै विलिन हुने अवस्थामा पुगेपछि सञ्चालक समितिले चरण पूजाको व्यवस्था मिलाउने निर्णय गरेको बताउनुभयो ।
उहाँका अनुसार ऐतिहासिक मूर्तिलाई स्पर्श गर्न र अबिर केसरीलगायतले प्रत्यक्ष पूजा गर्न पाइँदैन । मूर्तिमा नै पूजा गर्नुपर्छ भन्ने मानसिकता परिवर्तन गरी माताको मुख्य मूर्तिलाई गरगहनाबाट श्रृंगार गरी सुसज्जित र आकर्षक बनाइएको छ ।