कृषि विकास बैंकमा कर्मचारीसहितलाई धरौटी माग

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
उच्च अदालत विराटनगरको बाणिज्य इजलासले बैंकिङ कसुर मुद्दामा एक सरकारी कर्मचारीसहित आठ जनालाई मुद्दाको बिगो अनुसार लाखांै रुपियाँ धरौटी दाखिला गर्न आदेश गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारस्थित कृषि विकास बैंक उपशाखाका कार्यालयका लेखापाल हरिशंकर न्यौपानेसहित सात जनालाई उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त बाणिज्य इजलासले १७ साउनमा बिगो अनुसारको धरौटी दाखिला गर्न आदेश गरेको हो ।

उपस्थित गराइएकामध्ये बैंकका कार्यालय सहयोगी ललितकुमार राईलाई भने साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश गरेको छ । अदालतले बिगोअनुसारको धरौटी दाखिला गर्न आदेश गरेका एक जना बैंक कर्मचारी बाहेक अन्य छ जना सबै ऋणि हुन् । अदालतले बैंकका लेखापाल न्यौपानेलाई ८४ लाख ६२ हजार धरौटी दाखिला गर्न आदेश गरेको छ ।

यसैगरी ताप्लेजुङ श्रीजंङगा गाउँपालिका ३ घर भई फुङलिङ बस्दै आएकी ३४ बर्षिय पदमा दिदी भनिने पदमकुमारी नुगो (लिम्बु) लाई ४३ लाख धरौटी माग गरेको छ ।
खराब कर्जा प्रवाह गर्ने बैंकका उपशाखा प्रमुख गणेश खतिवडा र कर्मचारी भीम आचार्यसहित १२ जना ऋणि अझै फरार । पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य अभियुक्त हुन् । उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैंकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन् ।

धरौटी माग गरिएका अन्यमा फुङलिङकै सरिता लिम्बुलाई ३ लाख ३६ हजार सुनिता लिम्बुलाई ४ लाख ३६ हजार अनिता जोगीलाई ३ लाख ३६ हजार शान्त काङबालाई ४ लाख ३६ हजार र इन्दिरा खवासलाई १ लाख ३६ हजार धरौटी दाखिला गर्न आदेश गरेको छ ।
यसैबीच उच्च अदालतको आदेशअनुसार धरौटी दाखिला गरे पनि बैंकिङ कसुर आरोपमा शान्ता काङ्बा र इन्दिरा खवास प्रहरी हिरासतबाट छाडिएनन । ताप्लेजुङ जिल्ला अदालतमा उनीहरु उपर किर्ते जग्गाको मुद्दा विचारधीन भएकाले उनीहरु प्रहरी नियन्त्रणमै रहेका हुन । प्रहरीले उनीहरुलाई विराटनगरबाट ताप्लेजुङनै फर्काएको छ ।

ताप्लेजुङको फुङलिङ बजारमा रहेको कृषि विकास बैंकको कर्जा प्रवाहमा भएको अनियतिता आरोपमा कृषि विकास बैकले चार जना बैंक कर्मचारीसहित २२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा अभियोग दर्ता गराएको थियो । बैंकका तत्कालीन उपशाखा प्रबन्धक विराटनगर महानगर १२ बस्ने गणेश खतिवडा र कर्मचारी झापा दमकका भीम आचार्यसहित अन्य अझै फरार छन् । पटक–पटक ताकेता गर्दा पनि राजनीतिक संरक्षणको आडमा अटेर गरेपछि बैंकले अनुसन्धान गरेर चार कर्मचारी र १९ जना ऋणिविरुद्ध बंैकिङ कसुरमा विभिन्न १८ वटा अलग–अलग मुद्दा तयार गरी २३ जनाविरुद्ध १ करोड ७८ लाख बिगो कायम गरी अभियोग दर्ता गराएको थियो ।