भन्सार छलिका सामान बरामद

0
Shares

उत्तम नेपाल, भद्रपुर
भद्रपुर छोटी भन्सार र भन्सार सुरक्षामा खटिएका प्रहरीको मिलेमतोमा लैजादै गरेको डेढ लाख मँल्य बराबरको सामान गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार अपरान्ह साढे ४ बजे भन्सार नजिकै रहेका कारोबारी सन्जिव घोषको घरको गेटबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतबाट दुइ गाडी सामान ल्याएर भन्सार गोदाममा राखी भन्सार कर्मचारीसँग सेटिङ मिलाएरको सामान घोषको घरभित्र छिराउँदै गरेको अवस्थामा गस्ती प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । बरामद गरिएको तीन पोकामा १ सय ४ थान गुम्बामा राख्ने तामा र पित्तल मिसिएको अग्लो दियोको ५७ हजार २ सय र एक पोकामा ५४ थान कपडाको ८६ हजार ५ सय साठी गरी १ लाख ४३ हजार ७ सय ६० मँल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट मेची नदी हँुदै दुई राँगा गाडीमा ल्याएको सामान भन्सारमा छिराएको थियो । भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा भारी वर्षा भएको मौका पारेर घोषका कामदारले ठेलामा राखेर घोषको घरको गेट खोल्दै गरेको अवस्थामा सामान बरामद गरीएको प्रहरीको भनाइ छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्रका एसपी रेशम कुमार थाक्सुले जानकारी दिनुभयो । शनिबारको दिन पनि घोषको सामान भन्सारभित्रैबाट बाहिर निस्कनु प्रहरी र कर्मचारीको मिलेमतोबिना असम्भव हुने भद्रपुरका व्यापारीको आरोप छ । घोषको यस्तो चर्तिकला प्रायः भइरहने उनीहरू बताउँछन् ।

कपडाको कारोबार गर्दै आएका घोषले पछिल्लो समय अन्य सामानको पनि कारोबार गर्ने गरेको यो घटनाले पुष्टि गरेको छ । प्रहरीले बरामद गरेको गुम्बाको दियो काठमाडांैमा बढी खपत हुने गरेको बुझिएको छ । भन्सार र व्यापारी घोषको घर नजिकै रहेकाले प्रायः अनुकुल मिलाएर बहुमँल्य सामान राजस्व नकाटी भन्सार कर्मचारीलाई मिलाएर लैजाने गरेको विगतको घटनाले पनि देखाएको थियो ।

घोषको नजरमा भन्सार कर्मचारी र प्रहरी चुइक्क बोल्न पनि नसकेका कारण यस्तो अवैध कारोबार पटक–पटक हुने गरेको छ । भन्सारभित्रबाट यस्तो काम हुनै नसक्ने भद्रपुर भन्सार अधिकृत किरण शर्माले दाबी गर्नुभयो। काम विषेशले काठमाडौंमा भएकाले के भएको भन्ने विषयमा कार्यालय आएपछि मात्र स्पष्ट हुने शर्माको भनाइ छ ।

केही दिन अघि दुईजना कारोबारीसहित एउटा मोटरसाइकल र ७० हजार मँल्य बराबरको कपडा भद्रपुरको गणेश मन्दिर छेउको भित्री बाटोबाट नेपाल प्रहरीले बरामद गरेको थियो । बरामद कपडा घोषले दाबी गरी पक्राउ परेका दुई कारोबारीलाई धरौटी बुझाएर छुटाएका थिए ।

त्यसैगरी तीन महिना अघि सुनसरीको जमुवाबाट भारतीय गाडीसहित ४४ लाखको सामान र व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको थियो । सामान र पक्राउ परेका भारतीय व्यक्तिमाथि दाबी गर्दै ४४ लाख धरौटी बुझाएर घोषले झुम्का कारागारबाट छुटाएका थिए भने सामान र गाडी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा नै रहेको सो कार्यालयले जनाएको छ ।