गणेश घिमिरे, इलाम
जिल्लाको पूर्वी सुर्योदय नगरपालिकाले अग्र्यानिक नगरको अभियानलाई अगाडी बढाएको छ । निषेधित बिषादी मुक्त नगर निर्माण घोषणापत्र २०७५ सार्वजनिक गर्दै नगरपालिकाले अग्र्यानिकरण अभियानलाई अगाडी बढाएको हो ।
स्वच्छ कृषि बस्तु उत्पादन, दिगो खेती प्रणाालीको संरक्षण गर्न प्राकृतिक सन्तुलन कायम गर्न, मानव स्वास्थ्य तथा पारिस्थितीक प्रणाली बचाउन अभियानलाई अगाडी बढाइएको नगर प्रमुख रणबहादुर राईले बताए । ‘रसायनिक बिषादीको कारण माटो, पर्यायवरण र कृषि प्रणालीका साथै मानव स्वास्थ्यमा असर पार्ने भएकाले सुुर्योदय नगरपालिकाले यो कार्य अगाडी बढाएको हो’ मेयर राईले भने ‘तीन चरणमा बिषादीमुक्त नगर कार्ययोजना अगाडी बढाइएको छ ।’
पहिलो चरणमा विद्यालयमा प्रशिक्षण, प्रतिवन्धित विषादीको बर्गिकरण, लेबलरहीत बिषादी बिक्रीमा रोक लगाइने छ भने, दोश्रो चरणमा बिषादीको बैकल्पिक उपायको बारेमा जनचेतना मूलक कार्यक्रम, बिषादी बजार एवंम प्रयोगशालामा छडके जाँच तथा जैविक बिषादी उत्पादन केन्द्र निर्माण लगायतका कार्यक्रम रहने छ । यसैगरी तेस्रो तथा अन्तिम चरणमा बिषादी अवशेष नियन्त्रण, आवादी एवंम पर्यटकीय क्षेत्रमा ‘नो स्प्रे जोन’ र दिर्घकालिन बिषादी नियमन एवं नियन्त्रण निती बनाएर लागु गरिने भएको हो ।
निषेधित बिषादीमुक्त नगर घोषणा गरी विकल्प सहित तीनबर्षमा पहेंलो र निलो लेबलका रसायनिक बिषादीमुक्त नगर निर्माण गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भटटराईले बताए । डिडिटी, क्लोरोडोन, टोक्साफेन, इथियन लगायत १५ प्रकारका विषादी नेपालमा प्रतिबन्धित गरिएको छ । यसबाहेक पनि नेपालमा सुचिकृत बिनाको कतिपय विषादीहरु किसानहरुले प्रयोगमा ल्याईरहेका छन् । जिल्लामा सबैभन्दा बढी सूर्योदय नगरपालिकामै बिषादीको बढी प्रयोग हुँदै आएको छ । त्यहाँका कृषकले चिया तथा कृषिजन्य बालिमा बिषादीको प्रयोग बढी गर्ने गरेका हुन् ।











प्रतिक्रिया