‘शिक्षा जीवनका लागि होइन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पूर्वसांसद एवम् शिक्षाविद् लक्ष्मण राजवंशीले शिक्षा जीवनका लागि नभएको बताउनुभएको छ । शनिबार सिद्धार्थ वनस्थली इन्स्टिच्युटको एसईई २०७४ का विद्यार्थीलाइ बिदाइ, बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालको शिक्षा विरोधाभाष भएको बताउँदे उहाँले भन्नुभयो– ‘नेपालको शिक्षाले देश चिन्दैन, शिक्षाले देश बुझ्दैन ।’ शिक्षा र ज्ञान अलग भएकोमा उहाँको जोड थियो । ‘हरेक परीक्षामा शिक्षकको परीक्षा हुन्छ, त्यसैले यो शिक्षक र विद्यार्थी दुवैको नतिजा हो’ –उहाँको भनाइ थियो ।

उहाँले आफू ४ वर्षसम्म संसद्को सदस्य हुनु जीवनकै ठूलो भूल भएको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने ७ विद्यार्थीलाई प्रमुख अतिथि पूर्वविद्यार्थी, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगनकुमार थापाले मेडल प्रदान गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक रुपक राजवंशीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले सबै विद्यार्थीलाई असल बन्न आग्रह गर्नुभयो । यस वर्ष सो विद्यालयबाट २ सय ६४ विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले बीसौं वर्षपछि आफूले अध्ययन गरेको विद्यालयमा प्रमुख अतिथि भएर आउन पाउँदा ज्यादै सुखी लागेको बताउनुभयो । स्कुल जीवन स्मृतिको खुत्रुके भएको बताउँदै थापाले प्रतिकूलताबाट लड्न सिकाउने शिक्षा आफूले यही विद्यालयबाट पाएको बताउनुभयो । संसारका हरेक कुनामा एक न एक जना वनस्थलीको विद्यार्थी भेटिनु विद्यालयको देन भएको उहाँको भनाइ थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक रुपक राजवंशीले सिद्धार्थ वनस्थलीको सान संसारभर रहेको बताउनुभयो । सबैभन्दा ठूलो एल्मुनाई एसोसिएसन सिद्धार्थ वनस्थलीको रहेको उहाँको भनाइ थियो । उहाँले प्रमुख अतिथि थापालाई मायाको चिनो प्रदान गर्नुभएको थियो।