जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन सम्बन्धी तालीम

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

राष्ट्र निर्माण मञ्च नेपालले सुर्यबिनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिका लागि तीन दिने भुकम्प पुननिर्माण र स्थानीय सरकार संचालन विधि सम्बन्धि आवासीय तालिम संचालन गरेको छ ।

शुक्रबारबाट नगरकोटमा सुरु भएको तालिममा पहिलो दिन जनप्रतिनिधिहरुलाई न्यायधिस बामदेब ज्ञवालीले स्थानीय तहमा कानुन निर्माणका प्रकृया र नमुना अभ्यास र अधिबत्ता टिकाराम भट्टराईले मुलुक देवानी (संहिता) र कार्यविधि (संहिता) ऐन (२०७४) सम्बन्धि प्रशिक्षण दिनुभएको मञ्चका अध्यक्ष निर्मलकुमार उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी अधिबत्ता अनिलकुमार श्रेष्ठले स्थानीय सरकार संचालन विधि सम्बन्धि कानुनी ब्यबस्थाका सम्बन्धमा ,अधिबत्ता रामकृष्ण काफ्लेले मेलमिलाप चरण ,कानुनी ब्यबस्था र नमुना अभ्यासका बारेमा ,राष्ट्रिय पुननिर्माण प्राधिकरणका शाखा अधिकृत लालबहादुर बस्नेतले भुकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धि ऐन ,नियमावली र कार्यबिधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।

जनप्रतिनिधिलाई तालिमका क्रममा अधिबत्ता टिकाराम भट्टराईले मुलुकी फौजदारी (संहिता,ऐन र कार्यबिधि २०७४ बारे ,डा.चन्द्रकान्त ज्ञवालीले संघीय शासनमा नेपालको न्याधिक संरचना र न्यायिक समितिको क्षेत्राधिकार,अधिबक्ता वसन्त आचार्यले स्थानीय कानुन तर्जुमा र न्यायिक समितिको बिवाद निरुपण प्रकृया र नमुना अभ्यास र चार्टर एकाउण्टेण्ट बिश्वराज बसौलाले स्थानीय तहको आम्दानी ,कर प्रणाली, एकीकृत सम्पति कर ,मुल्यांकन विधि र ब्यबस्थापन बारे सहजीकरण गर्ने मञ्चले जनाएको छ ।

यसैगरी तालिममा संघीय मामिला,तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब पुरुषोत्तम नेपाल,सामाजिक अभियन्ता बिष्णुबहादुर खत्रीले जनप्रतिनिधिको नेतृत्व विकास र मञ्चका प्रतिनिधिले भुकम्प प्रभाबित संरचनाको पुननिर्माणमा भएका उपलब्धी र चालिएका कदम बारे प्रशिक्षण दिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

यस अघि तालिमको उद्घाटन गर्दै प्रदेशसभाका सांसद शशिजंग थापाले सीमित स्रोत साधनका बाबजुद जनताका असीमित आवाश्यकता पुरा गर्नु चुनौतिपुर्ण रहेको उल्लेख गर्दै तालिम जनप्रतिनिधिका लागि फलदायी हुने बताउनुभयो ।

तालिममा सुर्यबिनायक नगरपालिकाका उपप्रमुख,दुई वटै नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष , कार्यपालिका सदस्य ,नगर समिति सदस्य ,वडा सदस्य लगायत ४५ जनाको सहभागिता रहेको छ ।मञ्चका अध्यक्ष उप्रेतीले जनतालाई न्यायमा पहुँच अभिबृद्घिका लागि बिभिन्न जिल्लामा मञ्चले परियोजना संचालन गर्दै आएको बताउनुभयो ।