समाचारपत्रकर्मी कार्कीलाई पत्नीशोक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल संयोजक सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता कार्कीको गोसाइँकुण्ड गएका बेला पहिरोमा परेर निधन भएको हो।

साथीहरुसँग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा गएको पहिरोसँगै आएको ढुंगाले टाउकोमा लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

कार्कीको शव शनिबार बिहान काठमाडौं ल्याई शनिबार नै अन्तिम संस्कारका लागि रौतहट लगिएको छ । रौतहटमा नै हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिने कार्की परिवारले जनाएको छ । कार्कीका एक छोरा र एक छोरी छन् । छोराको यसै वर्ष चूडाकर्म गर्ने कर्यक्रम थियो ।

यसैबीच पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा. समृद्ध थापाले जानकारी दिए ।