पढ्न चाहे उमेरले छेक्दैन, ५ बर्षमा १२ कक्षा उतिर्ण ।


हिक्मत नेपाली, दैलेख ।
जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलकप्रसाद न्यौपाने अहिले ५५ वर्षका भए । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका न्यौपाने अहिले जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत छन् । २०३८ सालमा एसएलसी उत्तीर्ण भएपछि उनले मुखियाबाट सरकारी सेवा प्रवेश गरेका थिए । २०४० सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका न्यौपानेले १३ वर्ष जिल्ला प्रशासनको प्रशासन फाँटमा मुखिया र १५ वर्ष खरिदार बनेर काम गरिसकेका छन् । उनी विगत आठ वर्षदेखि नायब सुब्बा पदमा कार्यरत छन् ।

विहिवार राष्ट्रिय परिक्षा बोर्डले प्रकशित गरेको कक्षा १२ को नजिता अनुसार उनी उतिर्ण भएका छन् । सदरमुकाम दैलेख बजारमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका न्यौपानेले कक्षा ११ र १२ दुवैमा ५० प्रतिशत अंक प्राप्त गरेका छन् । ५५ बर्षिया न्यौपानेले कक्षा १२ उतिर्ण गरेर पढ्नलाई उमेरले छेक्दैन भन्ने सफल उदाहरण बनेका छन् । १२ पास गरेर उनले पढ्नलाई उमेर छेक्दो रहेनछ भन्ने पुष्टि गरेका छन् ।

पढाइले आफूलाई बढुवाका लागि समेत बाटो खुलेको उनले बताए । जागिरे जीवनको धेरै जसो समय उनले दैलेख जिल्ला प्रशासन कार्यालयमा बिताएको अनुभव सुनाए । जागिरे समयदेखि जिल्ला प्रशासन कार्यालयमा मात्रै २९ जना प्रमुख जिल्ला अधिकारीसँग काम गरिसकेको अनुभव उनीसँग छ । सबैसँग मिजासिलो स्वभाव राख्ने न्यौपाने जागिरे जीवनमा मात्र सीमित छैनन् ।

नारायण नगरपालिका ६ भुर्तीमा पुरानो घर जग्गामा उनले अहिले पनि कुखुरा उत्पादन र तरकारी उत्पादन गरेका छन् । उनी भन्छन्, ‘आफ्नो बारीमा उत्पादन गरेको तरकारीमा विषादी हुँदैन साँझ बिहानको समय तरकारी खेती र कुखुरा उत्पादनमा लाग्ने गरेको छु ।’ आफू सानैदेखि तरकारी उत्पादनमा रुचि राख्ने र ताजा तरकारी खान पाइने भएकोले पनि तरकारी उत्पादनलाई महत्व दिएको न्यौपानेले बताए । आगामी दिनहरुमा पनि शिक्षालाई महत्वका साथ अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउछन् उनी । ९ सदस्य रहेको उनको रिवारमा छोराहरू, छोरी र बुहारीहरू सबैले स्नातक तह उत्तीर्ण गरिसकेका छन् ।

जिल्लाभरीका आम नागरिकहरूले जिल्ला प्रशासन कार्यालयमा आउँदा सुरुमा न्यौपानेलाई भेट्ने गर्दछन् सबैलाई सकारात्मक सल्लाह दिने सहयोगी भएकोले मलाई सबैले माया गर्ने गरेको न्यौपानेले बताए । पढ्ने इच्छा भए उमेरले कसैलाई छेक्दैन भन्दै न्यौपानेले भने ‘उमेर गयो भनेर कसैले पनि पछुताउनु पर्दैन केवल पढ्ने इच्छा शक्ति हुनुप¥यो अनि फुर्सद निकाल्न सक्नु प¥यो ।’