व्यवस्थित बन्दै भरतपुरका हाटबजार


कृष्ण आचार्य, चितवन ।

भरतपुर महानगरभित्र सञ्चालिन हाटबजारहरु ब्यवस्थित बनाउने अभियान सुरु भएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७ का दुई स्थानमा सञ्चालन हुने हाटबजार ब्यवस्थित बनाएर सञ्चालनमा ल्याएको छ । वडाको गौतम चोक र नारायणपुर चोकमा सञ्चालन भइरहेका हाटबजार स्थललाई ब्यवस्थित बनाइएको हो । स्थानीय तह सञ्चालन ऐन निर्देशिकामा हाटबजारलाई ब्यवस्थापन गर्ने उल्लेख भए बमोजिम हाट बजारलाई ब्यबस्थित बनाइएको हाटबजार विकास व्यवसाय समिति चितवनका अध्यक्ष लालबहादुर रायले बताए । भरतपुरका सबै हाटबजारलाई पाँच वर्ष्भित्र व्यवस्थित गरिने उनले जानकारी दिए । ‘हाटबजारको संरचना आफै निर्माण गरेका हौं’, रायले भने, ‘कसैले सहयोग गर्छ की भनेर हेरेको भए अहिलेसम्म उस्तै हुने थियो ।’

प्रत्येक ब्यवसायीले दैनिक ५० रुपैयाँ बचत गरेर वार्षिक १८ हजार जम्मा गरेर हाट बजारलाई ब्यवस्थित गरिएको रायले बताए । यसअघिका अव्यवस्थित हाटबजार व्यबस्थित बनाएपछि सुन्दर देखिएको र पार्किङलगायतका समस्या समाधान भएको उनको भनाइ छ ।

हाटबजारमा व्यापार गर्ने प्रत्यक ब्यवसायीले दैनिक न्यूनतम एक हजार रुपैयाँ आम्दानी गर्नै गरेका छन् भने परिवारको दैनिक खर्च, छोराछोरीको पढाउने र दैनिक बचतसमेत गरेका छन् ।

हाटबजारमा १८ वटा स्टलहरुमा स्थानीय उत्पादनहरु राख्ने गरिएको र त्यसमा पनि केही स्टलमा अर्गा्निक तरकारी बिक्री बितरण हुने गरेको अध्यक्ष रायले जानकारी दिए । उनले स्थानीयले घरमा उत्पादन गरेका तरकारी पनि हाट बजारमा ल्याएर बिक्री बितरण गर्न सक्ने बताए । हाटबजारमा शौंचालय, खानेपानीको ब्यवस्था गरिएको छ भने हाटबजार सकिएको एक घण्टाभित्र फोहोर उठिसक्ने ब्यवस्था गरिएको रायको दाबी छ ।

‘तराई क्षेत्रको मुख्य बजार भनेकै हाटबजार हो, अध्यक्ष रायले भने’, ‘यसलाई राज्यले पनि विशेष ध्यान दिनुपर्छ ।’ अमेरिका, जापान र लण्डनमा सञ्चालनमा भएका हाटबजारका सफल प्रयोगहरु नेपालमा ल्याएर प्रयोग गर्न कोशिस गरिरहेको रायको बताए ।

देशभर एक हजार २६५ वटा हाटबजार रहेका छन् । जसमा पाँच लाख मानिसले रोजगार पाएका छन् भने १० लाख किसानले उत्पादित तरकारी हाटबजार मार्फत बिक्री हुने गरेको छ । २० लाख मानिसले हाटबजार मार्फत् तरकारीलगायतका दैनिक उपभोग्य सामान किन्ने गरेका छन् । चितवनमा मात्रै ७ स्थानका हाटबजार मार्फत ३५० जना हाटबजार ब्यवसायीले ब्यवसाय गर्दै आएका छन् । करिब ५०० किसानले उत्पादन गरेको तरकारी चितवनका हाटबजार मार्फत् बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले वडालाई सुन्दर र सफा बनाउने अभिप्रायले हाटबजारलाई ब्यबस्थित गरिँदै लगेको बताए । उनले ब्यबस्थित हाटबजार सञ्चालन भएसँगै हाटबजारमा देखिने गरेको अस्तव्यस्तता कम भएको दाबी गरे ।