महिलाद्वारा स्टोरमा बन्चरो आक्रमण


सिडनी, (एजेन्सी)
अस्ट्रेलियाको एउटा कन्भेनियन्स स्टोरमा दुई जनालाई बन्चरोले आक्रमण गर्ने एक महिलालाई हत्या प्रयासको अभियोग लगाइएको छ। गत वर्ष २६ वर्षीया इभि अमाती नामक महिलाले बिनाकारण सो आक्रमण गरेकी थिइन्।

७–इलेभन स्टोरमा प्रवेश गरेर अमातीले एक पुरुषको अनुहारमा र अर्की एक महिलाको टाउको पछाडि बन्चरो प्रहार गरेकी थिइन्। दुवै पीडितलाई गम्भीर चोट लागेको थियो। आक्रमणका बेला मानसिक सन्तुलन गुमेको भन्दै उनलाई दोषी करार गरिएको थिएन। तर शुक्रबार न्यु साउथ वेल्सको जिल्ला अदालतले उनीविरुद्ध तीनवटा अभियोग लगाएको छ। सुनुवाइको क्रममा अदालतमा अमातीका पीडितहरूले उनी कुनै कस्ट्युम पार्टीबाट स्टोरमा प्रवेश गरेको हुनुपर्ने अनुमान गरेको बताएका छन्।

सेक्युरिटी फुटेजमा अमाती मिटपाइ किन्दै गरेका पहिलो पीडित बेन रिम्मरको छेउमा आएर उनलाई अचानक लडाएर अनुहारमा चार इन्च लामो घाउ र हड्डी तोड्नुअघि उनीसँग संक्षिप्त कुरा गरेको देखिन्छ। त्यसपछि आमातीले ढोका छेउ स्यारोन ह्याकर नामक महिलालाई खप्पर फुट्ने गरी आक्रमण गरेको देखिन्छ। त्यसपछि स्टोरबाहिर तेस्रो व्यक्ति सेन रेडवुडलाई आक्रमण गर्न खोज्दा उनले आफ्नो ब्याकप्याकले छेकेका थिए भने त्यसको लगत्तै अमातीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।