रामधन राई, खोटाङ
डेढ महिना अघिदेखि बेपत्ता खोटाङका दुई बालिका अझै फेला पर्न सकेका छैनन्। गत असार ३ गते अचानक घर छोडी हिँडेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र सोही ठाउँकी १५ वर्र्षीया कृष्णकुमारी तामाङ अझै फेला परेका छैनन्।
कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत कृष्णको खोजीमा परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। परिवारले दुई बालिका हराएको ६ दिनपछि अर्थात् असार ८ गते प्रहरीमा निवेदन दिएको थियो।
दुवै बालिकाको हुलिया जारी गरी व्यापक खोजतलास गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीले बताउनुभयो।
खोजी कार्य जारी राखिए पनि बालिकाद्वय सम्पर्कमा नआउँदा परिवार चिन्तित बनेको छ। उनीहरूलाई कसैले ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीको अनुमान छ।
यसैबीच, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदीप राई चार दिनदेखि सम्पर्कविहीन छन्।
गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरूलाई मावल जाने भनी घर छोडेर हिँडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो। सोझो र प्रस्ट मुख नलाग्ने प्रदीपले मावल खाल्ले हुँदै टेम्मा जान्छु भनेर साथीहरूलाई बताएका थिए। तर खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीको भनाइ छ।
प्याजी रङको ज्याकेट, निलो पाइन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि असार १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ। बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ।











प्रतिक्रिया