नेपाल समाचारपत्र, काठमाडौं
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) का प्राथमिकता क्षेत्रलाई परिणाममुखी बनाउन विज्ञहरुले जोड दिएका छन् ।
आर्थिक समृद्धि र शसक्त क्षेत्रिय सहकार्यका लागि कनेक्टीभिटी, स्वतन्त्र व्यापार, उर्जा, पूर्वाधार जस्ता विषयलाई उच्च प्राथमिकतामा राख्न उनीहरुले सुझाएका छन् । ‘विमस्टेक पूर्वको सम्मेलन परामर्श बैठक’ विषयक अन्र्तक्रियामा बोल्दै विमस्टेक सदस्य राष्ट्रका राजदूत र विज्ञले क्षेत्रिय सहकार्यका लागि शान्ति र समृद्धिमा पनि जोड दिए ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विमस्टेक दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्ने शसक्त पुल भएको बताउँदै भन्नुभयो–‘नेपाल जस्तो भू–परिवेष्ठित मुलुकको व्यापार र समृद्धिका लागि विमस्टेक शसक्त मञ्च बन्नुपर्छ ।’ विमस्टेका विगतका सम्मेलनले गरेको प्रतिवद्धताअनुसार परिणाम आउन नसक्नुका कारण पहिल्याउन जरुरी भएको उहाँको भनाई थियो । विमस्टेको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।
सोही अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिम सिंह पुरीले वृहत र तीब्र आर्थिक गतिमा अघि बढिरहेका सदस्य राष्ट्रहरुवीच स्वतन्त्र व्यापार, यातायात र पूर्वाधार सहज बन्नुपर्ने बताउनुभयो ।
नेपालका लागि बंगलादेश र श्रीलंकाका राजदूतद्धय मास्फी विन्ते साम्स र वेलएज स्वरनालथा परेराले विश्वको २२ प्रतिशत जनसंख्या ओगट्ने विमस्टेक राष्ट्रले सोहीअनुसारको आर्थिक समृद्धि हासिल गर्न सशक्त हातेमालो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
श्रीलंकाका लागि नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले सार्क र विमस्टेकको छुटाछुट्टै महत्व रहेकोमा जोड दिदै एकको विकल्प अर्को हुन नसक्ने बताउनुभयो । वर्षौ अघिदेखि अन्तर क्षेत्रिय सहकार्य कमजोर भइरहेको अवस्थामा सार्कलाई ओझेल पारेर विमस्टेक अघि बढ्न नसक्ने उहाँको भनाई थियो ।











प्रतिक्रिया