नेपाल समाचारपत्र, बाँके
नेपालगञ्जबाट छाडा पशु समातेर चार वटा ट्रकमा राखी दाङको अमेलिया जंगलमा छोड्न गएको टोलीलाई बाँके राष्ट्रिय निकुञ्जले रातभरी थुनेर फिर्ता पठाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीलाई स्थानीयको अवरोधपछि निकुञ्जको आर्मीले ल्याएर रातभरी थुनेको हो । मंगलबार अपरान्ह निकुञ्जको मुख्य कार्यालय कटेर अगैयामा पुगेको टोलीलाई स्थानीयले अवरोध गरेर निकुञ्ज प्रशासनलाई खबर गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका र प्रहरीको टोलीले निकुञ्जमै पर्ने खैरीखोला नजिक छाडा पशु छोड्न थालेको पाइएपछि उनीहरुलाई त्यहाँ पशु छोड्न नदिएर राती निकुञ्जमा ल्याएर राखेको वार्डेन दिलबहादुर पुनले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले भने निकुञ्जपारी अमेलियामा छाडा पशुलाई छोड्न जादा केही स्थानीयले अवरोध गरेर निकुञ्जमा खबर गरेको बताएको छ । उपमहानगरपालिका निरीक्षण शाखाका हवल्दार पवन कनोजियाले छाडा पशुलाई निकुञ्जलाई नछोड्ने कुरा बताएर जादा पनि समातेर रातभरी थुनेको बताउनुभयो ।
नेपालगञ्ज बजारमा छाडा रहेका पशुलाई समातेर उपमहानगरपालिकाले जंगलमा लगेर छोड्ने नीति अघि बढाएको थियो । साउनमा मात्रै ६ वटा ट्रकमा छाडा पशु लगेर अमेलिया छेउमा छोडिएको छ । अहिले चार वटा ट्रकमा ७० वटा पशु लिएर जादा स्थानीयको अवरोध र निकुञ्जले रातभरी थुनेको कनोजियाले बताउनुभयो ।
उपमहानगरपालिकाबाट अनिरुद्र शर्मा, चन्द्र राना र अजय यादव तथा वडा प्रहरी कार्यालयबाट एकजना जवान छाडा पशु भरिएको ट्रक लिएर गएका थिए । पशुले भरिएको ट्रक र चार जनालाई निकुञ्जले रातभरी थुनेपछि बुधबार फिर्ता भएका छन् । हवल्दार कनोजिया गएर उनीहरुलाई बुझेर ल्याएका छन् ।
नेपालगञ्ज बजारमा छाडा रहेका पशुलाई जंगलमा लगेर छोड्दा जंगल छेउछाउका बासिन्दाले विरोध गर्दै आएका छन् । बजारमा बस्ने बानी परेका पशु जंगलभित्र नबसी बस्तीको छेउछाउमा आउने र उनीहरुले लगाएको बालीनाली खाइदिने गर्दछ । निकुञ्जका वार्डेन पुनले निकुञ्जका आसपासका मानिसहरुले जंगली जनावर भन्दा विभिन्न ठाउँबाट छोडिएका पशुका कारण आफूहरु मारमा परेको भन्दै उजुरी गर्न आउने गरेको बताउनुभयो ।
‘निकुञ्जमा छाडा पशुलाई लगेर छोड्न पाइदैन, निकुञ्ज बाहिर छोड्दा आसपासका मानिसहरुले विरोध गर्छन्, वार्डेन पुनले भन्नुभयो, छाडा पशु र त्यसमा पनि गाईको व्यवस्थापन बडो मुश्किल भएको छ ।’
नेपालगञ्ज बजारमा रहेका छाडा पशुलाई कान्जीहाउमा लगेर थुन्दा पनि मालिक लिन नआएपछि जनावरलाई जंगलमा लगेर छोड्ने नीति बनाइएको हो । जंगलमा पनि छोड्न नपाउने भएपछि उपमहानगरपालिकालाई छाडा पशु व्यवस्थापन साह्रै चुनौती देखिएको छ । उपमहानगरपालिका हवल्दार कनोजियाले छाडा पशु लिएर गएको टोलीलाई स्थानीय केही व्यक्तिले हातपात समेत गरेको बताउनुभयो । उनीहरुका विरुद्धमा प्रहरीमा उजुरी दिने कुरा भएको कनोजियाले बताउनुभयो ।











प्रतिक्रिया