नेपाल समाचारपत्र, चितवन
चितवनमा हालसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा सिंचाइँ सुविधा नभएको स्थान बाहेकका क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कार्यालयका अनुसार पश्चिम चितवनमा सिंचाई नभएका क्षेत्रमा धान रोप्न बाँकी छ ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका भित्र २५ प्रतिशत धान रोप्न बाँकी छ । कालिका र इच्छाकामना गाँउपालिकाका पनि केही क्षेत्रमा धान रोपाइँ हुन बाँकी छ । केही दिन यता आकाशे पानी राम्रोसँग परेकाले धान रोप्न बाँकी रहेका ठाउँहरुमा पनि छिट्टै रोपाईं हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । एकसाता भित्र चितवनमा धान रोपाइँ सकिने उनले बताए ।
चितवनमा यस वर्ष अधिकांश किसानले सावित्री, राधा ४, साँवा मन्सुलीलगायतका धान रोपेका छन् । जिल्लामा किसान माझ लोकप्रिय रहेको सावित्री धान करिब ३५ प्रतिशत क्षेत्रफलमा रोपिएको श्रेष्ठले बताए ।
चितवनमा यसवर्ष २९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जिल्ला कृषि कार्यालयले जनाएको छ । अघिल्लो वर्ष चितवनमा २९ हजार १०० हेक्टर क्षेत्रफल धान रोपाइँ भएको थियो । जिल्लामा वार्षिक एक लाख मेट्रिक्टन धान उत्पादन हुँदै आएको छ ।
पछिल्लो पाँच वर्षमा पाँच सय हेक्टर धान खेती हुने जमिन घटेको कार्यालयको तथ्याङ्कमा छ । माछापालन, केराखेती र प्लटिङका कारण चितवनमा बर्से्नि धान रोपाइँको क्षेत्रफल घटिरहेको छ । जिल्लाको पूर्वी क्षेत्रअन्तर्गत पर्ने बछौली, कठार, कुमरोज, खैरहनीलगायतको क्षेत्र धान खेतीको लागी पकेट क्षेत्र मानिन्छ ।











प्रतिक्रिया