बाँके (नेस)
बाँकेमा यसपाली गर्भवती÷सुत्केरी मृत्यु संख्यामा कमी आएको छ ।औसतमा वर्षेनी डेढ दर्जन आमाको मृत्यु हुँदै आएकोमा यसपाली आठ जनाकोमात्रै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका मातृ शिशु शाखाका अधिकृत बसन्त गैरेका अनुसार, मृत्यु हुने आठ जनामा सात जना मधेसी समुदायका छन् । गनापुर, नौबस्ता र बेतहनीमा २÷२ र कटकुइया र बेलहरीमा एक÷एक जनाको मृत्यु भएको छ ।
गैरेका अनुसार, तीन जना आमाको घरमै मृत्यु भएको छ । एकजनाको भारतीय अस्पतालमा र चार जनाको नेपालगञ्जस्थित अस्पतालमा मृत्यु भएको छ । गर्भवतीलाई अन्तिम अवस्थामा सुत्केरी गराउन अस्पताल ल्याउने गरेकाले अस्पतालमा मृत्युदर बढी देखिएको सम्बद्धहरु बताउँछन् ।
जिल्लाको विकट ठाउँ मानिने दक्षिण–पूर्वी गाउँ कटकुइयाकी महिलालाई बेथा लागेपछि भारतीय क्लिनिकमा लगिएको थियो । उनको त्यही मृत्यु भयो ।
यसपाली मृत्यु हुने गर्भवती÷सुत्केरीहरु सबै दोस्रोदेखि सातौ बच्चा जन्माउन खोज्नेहरु छन् । गनापुरकी महिला ४२ वर्ष र ६ सन्तानकी आमा थिइन् । बिरामी र अति नै कम तौल रहेकी ती महिलाले सातौ बच्चौ जन्माउन खोज्दा मृत्यु भएको थियो । स्थानीय स्वास्थ्य संस्थाले अति नै जटिल रहेको भन्दै भेरी अञ्चल अस्पतालमा पठाएपनि महिला भागेर घर गएकी थिइन् । घरमा पुगेर फेरि स्थानीय स्वास्थ्य संस्थामा गएकी उनको त्यही मृत्यु भएको थियो ।
नौबस्ताकी महिलालाई पनि डाक्टरले मुटुमा समस्या रहेकाले थप सन्तान नजन्माउन सल्लाह दिंदा दिदै गर्भवती भएकी थिइन् ।
बाँकेमा पछिल्लो वर्ष गर्भवती÷सुत्केरीको मृत्युदर घटेपनि अझै सन्तोषजनक हुन सकेको छैन । नेपालगञ्ज र कोहलपुरमा ठूल्ठूला अस्पताल र सबै स्थानीय निकायमा अर्थात साविकका सबैजसो गाविसमा प्रसुती गृह रहेको छ । त्यसका बावजुद घरमै बच्चा जन्माउन कोसिस गर्ने र अन्तिम अवस्थामा अस्पताल ल्याउने प्रवृत्तिले गर्भवती÷सुत्केरी मृत्युदर बढिरहेको छ ।
गतवर्ष बाँकेमा १६ जना गर्भवती÷सुत्केरीको मृत्यु भएको थियो । त्यसअघि १८ देखि २३ जनासम्मको मृत्यु भएको थियो ।
सुगम र सुविधा सम्पन्न जिल्ला भएपनि गर्भवती÷सुत्केरी मृत्युदर बढी भएपछि केन्द्र र जिल्लाले सुत्केरी मृत्युदर घटाउन विविध कार्यक्रमहरु गर्दै आएको थियो । राप्तीपारी अर्थात नरैनापुर गाउँपालिकाको स्वास्थ्य संस्था राम्रो तथा फत्तेपुर र गंगापुरमा एम्बुलेन्स सेवा सञ्चालन भएपछि सुत्केरी मृत्युदर न्यूनीकरणमा ठूलो सघाउ पुगेको गैरेले बताउनुभयो ।











प्रतिक्रिया