नेपाल समाचारपत्र, नुवाकोट
स्वास्थ्य सेवालाई सहज रुपमा नागरिकहरुको पहुचमा पु¥याउने उद्धेश्यका साथ नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारमा रहेको समुद्रटार स्वास्थ्य चौकीले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
दुई करोड रुपैयाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङल उद्घाटन गरी स्वास्थ्य चौकीको सेवा नयाँ भवनबाट शुभारम्भ गर्नुभएको छ । गाउपालिकाका अध्यक्ष तामाङले स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणको लागि ३० लाख रुपैया गाउँपालिकाले चालू आर्थिक वर्षका खर्च गर्न लागेको जानकारी दिनुभएको छ ।
पहिलेको भवन निकै साँघुरो भएकोले सेवा प्रवाह गर्न समस्या भएकोमा अब त्यो समस्या हटेको स्वास्थ्य चौकीका इञ्चार्ज ताराकुमार श्रेष्ठले बताउनुभएको छ । नयाँ भवनमा सुविधायुक्त प्रसूति कक्षा, प्रयोगशाला, हल समेत रहेको छ । आवास कक्षा समेत रहेकाले स्वास्थ्यकर्मीले आपतकालीन अवस्थामा जुनसुकै बेलामा पनि सेवा दिनसक्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष किशोर आचार्यले जानकारी दिनभएको छ ।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसुदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी गरी पाँच रोपनी जग्गा दान गर्नुभएको थियो ।











प्रतिक्रिया