पाँच वर्षभित्र ३ हजार मेगावाट विद्युत् उत्पादन

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं उर्जा मन्त्री बर्षमान पुनले जनताको पानी जनताको लगानी अभियान अन्र्तगत सरकारले पाँच बर्ष भित्र ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् ।

बुधवार (आज) सदरमुकाम चरिकोटमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुलाई निर्देशन दिनेक्रममा उर्जा मन्त्री एवं नेकपाका नेता पुनले मुलुकको विकास र समृद्धिको लागि कम्युनिष्ट नेतृत्वको सरकारले ६ खरबको लगानिमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको बताए । उनले दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक बर्ष भित्र जसरी पनि सम्पन्न हुने बताए । माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि एक सय मेगावाट विद्युत भारतलाई बिक्रि गर्न सकिने पनि उर्जा मन्त्री पुनले बताए ।

स्तरउन्नतिको क्रममा रहेको लामोसागु जिरी सडकको काम समयमै सम्पन्न नहुदा माथिल्लो तामाकोसी आयोजनालाई समेत असर गर्ने अवस्था देखिएको उल्लेख गर्दै मन्त्री पुनले सरोकारवाला मन्त्रालयसंग समन्वय गरेर सडक स्तरउन्नतीको काम तत्काल सक्ने वातावरण बनाउने बताए । मन्त्री पुनले दोलखामा तत्काल निर्माण गर्न सकिने तामाकोसी ३ र ५ आयोजनाको लागि समेत सरकारले प्रकृया अगाडि बढाउने जानकारी गराए । दोलखामा रहेको तामाकोसी ३ र ५ आयोजना सरकारको पहिलो प्राथामीकतामा रहेको पनि मन्त्री पुनले जानकारी गराए ।

नेकपाका नेता एवं उर्जा मन्त्री पुनले तत्कालीन एमाले र माओवादी केन्द्र बीचको एकता नेताहरुको दीर्घकालिन सोचको उपज भएको बताए । उनले विगतमा दुई पार्टीको सम्बन्ध समय अनुसार फरक रहेको भएपनि नेताहरुले पछिसम्मको बाटो हेरेर पार्टी एकता गरेको उल्लेख गर्दै कार्यकर्ताहरुले सोहि भावना अनुसार काम गर्नु निर्देशन समेत दिए ।

त्यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका नेता इश्वरचन्द्र पोखरेलले तामाकोसी ३ र ५ तत्काल सञ्चालन गर्नु पर्ने, लामोसागु जिरी सडकको स्तरउन्नतीको काम तत्काल सम्पन्न गर्नु पर्ने, दोलखामा रहेको सिंचाई, खानेपानी, भुसंरक्षण, कृषि, सडकका डिभिजन कार्यालय दोलखामै रहनु पर्ने भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ति, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश सांसद पशुपति चौलागाई, प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ, श्याम श्रेष्ठ, पूर्व राज्यमन्त्री देवी खड्का, अनुसासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, प्रदेश सभा सदस्य विशाल खड्का लगाएतको सहभागिता रहेको थियो ।

मन्त्री पुनले बुधवार नै जिल्ला समन्वय समिति दोलखाले गाँउपालिका तथा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको लागि आयोजना गरेको माथिल्लो तामाकोसी आयोजनाको सेयर सङ्कलन सम्बन्धि अभिमुखी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।