प्रहरी महानिरीक्षकद्वारा दज्र्यानी चिन्ह प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको साउन १३ गतेको निर्णयअनुसार पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी निरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षकमध्ये सञ्चारतर्फका ४ जना, संगीततर्फका २ जना र स्वास्थ्यतर्फका २ जनालाई दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिसँगै कार्यक्षेत्र र पदीय जिम्मेवारीसमेत बढेको हुनाले संगठनले अख्तियार गरेको रणनीतिअनुसार उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्राविधिकतर्फको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले प्राविधिकतर्फको कार्यले सम्पूर्ण नेपाल प्रहरीलाई चुस्त दुरुस्त बनाउने भएकोले प्राविधिक प्रहरीहरु आफ्नो कार्यमा निपूर्ण हुनपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, सरकार र नागरिकको अपेक्षाअनुसार अझै राम्रो सेवा प्रदान गर्न सके प्रहरीप्रति विश्वास बढ्ने र सामाजिक मर्यादा तथा प्रतिष्ठासमेत प्राप्त हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको उद्देश्यप्रति थप व्यावसायिक भएर स्तरीय कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूकोतर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी निरीक्षक ज्योतनारायण राय यादवले पदोन्नतिले आफूहरुमा थप उर्जा र मनोबलमा समेत उच्च वृद्धि भएकोले संगठनको नीति अनुसार थप जिम्मेवार र व्यावसायिक भई कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।