नेपाल समाचारपत्र, काठमाडौं
नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकार बिचौलियाहरुको कव्जामा परेको बताउनुभएको छ । उहाँले सरकारलाई प्रतिगमनकारीको संज्ञा पनि दिनुभएको छ ।
शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धमलाले सर्वहार वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरुको कब्जामा रहेको दाबी गर्नुभएको छ । ‘सरकारका कार्यशैली पूर्णरुपमा जनविरोधी छन्, पानीजहाज, मोनो रेलजस्ता महत्वकांक्षी योजनाहरु बाँडेर जनतालाई अल्मल्याउने काम मात्र भएको छ’ उहाँले भन्नुभयो– ‘भूकम्प गएको बर्षौं बितिसक्दा पनि पालमुनिको जिन्दगी काटिरहेका जनतालाई उचित राहतको व्यवस्था गर्न सकेन ।’
धमलाले जनपक्षीय नारा दिएर चुनाव जितेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ताको सिण्डिकेट लगाएर जनतामाथि अन्याय गरिरहेकोमा चिन्ता गर्नुभयो ।’
सरकारले मुल्यबृद्धि गरेको, करमा बृद्धि गरेको, बलात्कारका घटना रोक्न नसकेको भन्दै धमलाले सरकारलाई गलत गतिविधि सच्याउन र जनजीविकामा ध्यान दिन आग्रह गर्नुभएको छ । पार्टीले आफूहरुका जायज माग पूरा नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । नयाँ शक्ति पार्टी नेपालले उठाएका मागहरुमा एक्येवद्धता जनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक जेबी शाहले सरकार सञ्चालन गरिरहेको नेकपा पार्टीलाई सर्वहाराको पार्टी भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका विज्ञ परिषदका संयोजक डा. केशवमान शाक्य, गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य, विज्ञ परिषद सदस्य दुर्गा न्यौपाने, तिमिला यमी, नेताहरु राजु नेपाल, परिवर्तन भट्टराईलगायतले सरकारकोे बिरोध गर्नुभएको थियो ।
पार्टीद्धारा जारी विज्ञप्तिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानविन गर्नुपर्ने, ठेकेदारमाथि कारबाही गर्नुपर्ने, सुनकाण्डको छानबिनलाई तत्काल निश्कर्षमा पु¥याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मुल्यबृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।











प्रतिक्रिया