दुई सय भन्दा बढी कारबाहीमा परे
नेपाल समाचारपत्र, काठमाडाैं । सशस्त्र प्रहरी बलको अहिले कायम रहेको ५ वटा बाहिनीलाई बढाएर ७ वटै प्रदेशमा विस्तार गरिएको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँ, हलचोकमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नायब महानिरीक्षक डिआईजी एवम् प्रवक्ता बाबुराम पाण्डेले हालै बसेको मन्त्रिपरिषद्ले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ लाई स्वीकृत गरेपछि पुनर्संरचना थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सातवटा प्रदेशसहित उपत्यकामा थप एउटा गरी ८ वटा बाहिनी रहने छ भने सीमा सुरक्षा कार्यालयमा अहिले रहेको दुई सय ३७ जनशक्ति बढाई ६ सय २१ बनाइनेछ ।
नयाँ संरचनामा विद्यमान तालिम केन्द्र यथावत् राखी सबै प्रदेशमा तालिम केन्द्र राखिने, ३८ अनाश्रित गुल्म बढाएर ५६ बनाउने, १७ स्थानमा आश्रित गुल्म राखी सबै जिल्लामा सशस्त्र प्रहरी बल परिचालित गर्ने र १ र ६ प्रदेशमा रहेका क्षेत्रीय अस्पतालहरुलाई सबै प्रदेशमा विस्तार गर्ने योजना रहेको पाण्डेले बताउनुभयो ।
सोही पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीको नयाँ व्यवस्था अनुसार अब एक एक जना नभई एकैपटक युनिटै सरुवा हुने भएको जानकारी गराइयो । यसरी सरुवा हुँदा सशस्त्र प्रहरीमा थप उत्साह आउने विश्वास भएको पाण्डेले बताउनुभयो ।
यस्तै सशस्त्र प्रहरीमा असार महिनामा मात्र ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएको, तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृतमाथि कारबाही गरिएको र दुई जनाको जागिर नै गएको जानकारी दिनुभयो ।











प्रतिक्रिया