नेपाल समाचारपत्र, हेटौंडा
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारविरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो ।
हेटौंडामा भएको विरोध कार्यक्रममा वक्ता नेताहरुले सरकारले आफ्नो व्यवहार परिवर्तन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको जनाए । उनीहरुले संविधान कार्यान्वयन गराउने प्रमुख दायित्व सरकारको भए पनि सरकार आफंैले बेवास्ता गरेको बताए ।
नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले हेटौंडाका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । सरकारविरुद्ध कडा नारासहित विरोधमा उत्रिएको जुलुस वुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्यायले सरकारको रवैयाविरुद्ध आफूहरु आन्दोलित भएको बताउनुभयो । संसद्मा सभामुख र उपसभामुख छुट्टै पार्टीको हुनुपर्ने संवैधानिक ब्यवस्था हुँदासमेत एउटै पार्टीबाट सभामुख र उपसभामुख रहेको भन्दै उहाँले तत्काल सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बताउनुभयो । सरकारले मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै उहाँले सरकारको जनविरोधी कदमविरुद्ध आन्दोलित भएको बताउनुभयो ।
सभामा सांसद् इन्द्रबहादुर बानियाँले सरकारको चर्को आलोचना गर्नुभएको थियो । बानियाँले केपी ओली नेतृत्व सरकारको मनोमानी रोक्न आन्दोलनमा उत्रन वाध्य भएको बताउनुभयो ।
कांग्रेसले वर्तमान सरकार देशमा महंगी बढ्दासमेत गैरजिम्मेवार बनेको, स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको, अघिल्लो सरकारको निर्णय लागु नगरेको, स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको, बाढी–पहिरोपीडितको बेवास्ता गरेकोलगायत विषयले गर्दा आन्दोलन गर्नुपरेको उहाँले जनाउनुभयो । बानियाँले सरकारले संविधानको खिल्ली उडाएको बताउनुभयो ।
सरकारले लिएको अर्थनीतिका कारण धेरै कुरामा कर बढ्दा जनताले महंगीको मार खेप्नुपरेकाले जनतालाई परेका पीरमर्काको प्रतिपक्षले आवाज उठाउनु दायित्व भएको नेता बानियाँले बताउनुभयो । ‘जनताको कर बढेकाले खर्च बढ्यो । जनताको आम्दानी बढेको छैन । अर्कोतिर सरकारी स्वामित्वको आयल निगमले पेट्रोलियम पदार्थमा चार÷पाँच पटक मूल्य वृद्धि गरेपछि दैनिक जीवनमा असर परेको छ,’ उहाँले भन्नुभयो–रासायनिक मलको मूल्य बढ्दा किसानले मल किन्न सक्ने अवस्था छैन । यसले जनतालाई सकस थपिएको छ ।
५ वर्षका लागि फागुन ३ मा बनेको केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रतिपक्षले पहिलोपटक देशव्यापी आन्दोलन गरेको हो । साउन १ गते कांग्रेसले ओली नेतृत्व सरकार अधिनायकवादतर्फ उन्मुख भएको तथा जनविरोधी काम गरेको भन्दै सरकारलाई खबरदारी गर्न देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
सरकार र डा. गोविन्द केसीसँग भएको सहमतिको अक्षरशः पालना गर्नुपर्ने, नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको गिरफ्तारी, वीर अस्पतालका चिकित्सकलाई गृह मन्त्रालयमा बोलाएर अनुचित दबाब दिनुलगायत आरोप काँग्रेसको सरकारमाथि छ ।
कांग्रेसले महंगी, भ्रष्टाचार जस्ता जनजीविकाका सवालमा पनि सरकार गम्भीर नभएको तथा सञ्चारमाध्यममा कार्यरत् पत्रकारलाई आस्थाका आधारमा दुव्र्यवहार भएको भन्दै विरोध गरेको छ ।
सरकारको विरोधमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा गरेको विरोध प्रदर्शनका क्रममा हेटौंडा वुद्धचौकमा भएको सभामा कार्यकर्ताले एक ब्यक्तिमाथि मुक्का वर्षाएका छन् । कांग्रेसको कार्यक्रममा पुगेर कांग्रेसको आन्दोलन जायज नभएको भन्दै ‘मुर्दावाद’ को नारा लगाउने हेटौंडा–६, चौघडाका सन्तोष सापकोटामाथि कांग्रेस कार्यकर्ताले मुक्का बर्साएका हुन् ।
कांग्रेस जिल्ला सभापति तथा सांसद् बानियाँले मन्तब्य राख्ने क्रममा सापकोटाले कांग्रेसको आन्दोलन जायज नभएको बताएपछि कार्यकर्ताले उनीमाथि मुक्का वर्षाएका थिए । उनको आँखामा चोट लागेको छ । उनलाई प्रहरीले हेटौंडा अस्पताल पु¥याएको छ ।
विरोध प्रदर्शनमा जिल्लास्तरीय नेताहरु, मकवानपुरको ८ वटै गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहानगरका नेता÷कार्यकर्ता, भ्रातृ एवम् शुभेच्छुक संस्थामा पदाधिकारी, सदस्यहरु एवम् कार्यकर्ताको सहभागिता थियो ।











प्रतिक्रिया