सेलायो टालिएको शरीर: दोस्रो विश्वयुद्धका योद्धाको मृत्युले लामिडाँडा शोकमा

0
Shares

रामधन राई, खोटाङ
दोस्रो विश्वयुद्ध लडेर बहादुरी कमाउनु भएका रावाबेंसी गाउँपालिका–३ लामिडाँडाका योद्घा पत्थरमान राईको निधन भएपछि पूरै गाउँ शोकमा डुवेको छ । गाउँकै अभिभावकका रुपमा चिनिएका योद्घा राईको ९५ वर्षको उमेरमा निधन भएपछि लामिडाँडामा शोक डुवेको हो ।
सोमबार मृत्यु वरण गर्नुभएका राईले विसं २००० सालमा दोस्रो विश्वयुद्ध लड्नुभएको थियो ।

अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठमाडौं लगिएका राईको घर ल्याउनेक्रममा उदयपुरको घुर्मीमा निधन भएको थियो । हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज गरिएका राईले घर फर्किने इच्छा देखाउनुभएपछि घर फर्काउने क्रममा बाटैमा निधन भएको आफन्त पदम थुलुङले बताउनुभयो । बाबु गजवसिं राई र आमा सरिमायाको कोखबाट विस. १९८० साल माघ २ गते जन्मिनुभएका राईको मंगलबार गाउँमा अन्तिम दाहसंस्कार गरिएको छ ।

दोस्रो विश्वयुद्ध चलिरहेकै बेला राति साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै १९ वर्षको उमेरमा विसं १९९९ सालमा भर्ती हुनुभएका राईले दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध बहादुरीपूर्वक लड्नुभएको थियो । पल्टन नम्बर टेनजीआर १०९९९६ भएका राई घाइते अवस्थाका जापानी सेनाले प्रहार गरेको ग्रिनेटले लाग्दा गम्भीर घाइते हुनुभएको थियो । ग्रिनेटको छर्राले उहाँको शरीर छियाछिया बनेको थियो । ग्रिनेटले चिउँडो उडायो । देब्रे हातको चोर औंला चुँडियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा असर पुगेकाले सबै औंला बांगिएको थियो ।

घाइते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बितेको थियो । अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइएको थियो । उहाँको १८ ठाउँमा शल्याक्रिया गरिएको आफन्तले जनाएका छन् ।

शरीरकै छाला काटेर उहाँको ओठका रुपमा टाँसिएको थियो भने नक्कली दाँत हालिएको आफन्त बताउँछन् । लडाइँमा छियाछिया भएको शरीर टालटुल गरिएको थियो ।
२००२ सालमा जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताउनुभएको थियो । युद्धबाट फर्किएर विवाह गर्नुभएका राईको ६ छोरी र एक छोरा हुनुहुन्छ ।