नेपाल समाचारपत्र, लमजुङ
लमजुङका एम बृद्धि ७१ वर्षको उमेरमा बेपत्ता भएको ४७ वर्षपछि घर आएका छन् । बेसीशहर नगरपालिका– २ भकुण्डेमा स्थायी बसोबास भएका प्रेमबहादुर खड्का घर छोडेर सम्पर्कबिहीन भएको ४७ वर्षपछि घर फर्केका हुन् ।
खड्कालाई गाउँ आउँदा बुढापाकाले मात्र चिनेका र उनले पनि थोरै मात्र पाको उमेरकालाई चिनेका छन् । उहाँले भन्नुभयो ‘बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन, जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ’ । खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको जानकारी दिनु भएको छ ।
उमेर ७१ वर्ष नाघे पनि प्रेमबहादुरको अहिलेसम्म नेपाली नागरिकता छैन । उहाँले भन्नुभयो ‘७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो । तर मेरो बुबाआमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन ।’
बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर आएको र त्यसपछि भारत जानु भएका प्रेमबहादुर ४७ वर्षपछि गाउँ सम्झेर फर्कनु भएको हो ।
धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको दुःखेसो प्रेमबहादुरको छ । उहाँका अनुसार सातजनाको समूहले आफ्नो साथमा रहेको २३ हजार भारतीय रुपैयाँ पनि लुटेको गले । कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयकै स्थानीयले फेला पारेर बचाएका थिए ।
आफू बेवारिसे स्थितिमा अलपत्र परेको बेला प्रेमबहादुरलाई लमजुङको धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन् । ती व्यक्तिले घर धमिलिकुवा भने पनि नाम याद नभएको प्रेमबहादुर बताउनु हुन्छ ।
आफू अहिलेसम्म अविवाहित नै रहेको बताने उहाँले आफ्नो जन्म मिति २००४ साल वैशाख १४ गते भएको बताउनु भएको छ । उहाँका अनुसार बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग बस्न थाल्नु भएको छ ।











प्रतिक्रिया