३६ वर्षपछि छोटी भन्सार भयो प्रमुख भन्सार

0
Shares

उत्तम नेपाल, भद्रपुर
भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालय ३६ वर्षपछि पुनः प्रमुख भन्सार भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा रहेको भद्रपुर छोटी भन्सारलाई विभागले चालु आर्थिक वर्षको शुरुबाट प्रमुख भन्सारको रुपमा मान्यता दिएको हो ।

अब झापाको पूर्वी सीमानामा भद्रपुर र मेची गरी दुईवटा प्रमुख भन्सार कार्यालय भएका छन् । वि.सं. २००८ सालमा झापामा एकमात्र प्रमुख भन्सारको रुपमा स्थापना भएको भद्रपुर पूर्व–पश्चिम महेन्द्र राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सारको स्थापना भइ भद्रपुरलाई छोटी भन्सारमा राखिएको थियो । वि.सं. २०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधिलाइ मेची भन्सारले हेर्दै आएको थियो । मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै नेपाल सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नति भएको बताइएको छ ।

भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भए पनि विभागबाट कर्मचारी नखटाइएकोले तत्काल मेची भन्सारकै मातहतमा सञ्चालन हुने मेची भन्सार अधिकृत विमल पौडेलले जानकारी दिए । विभागबाट अधिकृतसहितको कर्मचारी पठाएपछि सम्पूर्ण काम र कर्तव्य विभागसँग जोडिने अधिकृत पौडेलको भनाइ छ । निर्णय भइसकेले राजपत्रमा प्रकाशित पनि अब केही दिनभित्रमा हुने उनले जानकारी दिए । राजमार्ग दक्षिणमा सञ्चालित केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर मतहतमामा रहने गरी विभागले तयारी शुरु गरिसकेको बुझिएको छ ।

भद्रपुर–५स्थित करिब १० कठ्ठा क्षेत्रफलमा भद्रपुर भन्सारमा हाल दुईवटा गोदाम सहित एउटा भवन छ । पुरानो भवन भत्काएर पाँच बर्षअघि दुई तले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो । तर मेची पुल पश्चिम तर्फ रहेको भन्सार कार्यालयको उत्तरबाट सडक विस्तार हुने भएकोले कार्यालय भवनमा केही क्षति हुने भएको छ ।

भन्सार विभागले पूर्वाधारको योजनासँगै भद्रपुर भन्सारलाई दिर्घकालिन व्यवस्थापन नगरिएकोले नेपाल सरकार, भन्सार विभाग र स्थानीय सरकारले तत्काल भन्सारको पूर्वाधार निर्माणमा जुट्नुपर्ने स्थानीय व्यवसायीको भनाइ छ ।

भारतको विहार र बंगाल राज्य, बंगालदेशसहित भुटानसँगको दुरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० विगाहा जमिनको आवश्यकता रहेको कार्यालयले जनाएको छ । सडकको आसपासमा जमिन खरिदका लागि अध्ययन शुरु भइसकेकोले भन्सारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेकजाँच स्थल, पशु, कृषि, खाद्य क्वारेन्टाइन, कार्यालय, कोदाम, पार्किङ्गस्थल रहने भन्सार कार्यालयले जनाएको छ ।