करोडौं खर्चेको कालोपत्रे दुई महिना टिकेन, जनप्रतिनिधी र प्रशासनले थाले अनुगमन



?

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको कुस्मा नगर  पालिका ११ मा करोडौं खर्च गरेर बनाएको दोबिल्ला–फलेवास सडक खण्डको कालोपत्रे २ महिना नपुग्दै उप्किन सुरु गरेको भने सडकको ठुलो क्षेत्र भासिएर यातयात समेत बन्द हुने अवस्थामा पुगेको छ ।
पर्वतको कुस्मा बजारलाई फलेबास र दक्षिण क्षेत्र संग जोड्ने दोबिल्ला फलेबास सडकको ज्ञादी फाँटमा कालोपत्रे उक्एिको छ भने पुरुवा माटोमा कालेपत्रे गरेपछि एक सय मिटर भन्दा बढी सडक भासिएको हो ।

गत जेठको अन्त्यतिर मात्र कालोपत्रे गरिएको उक्त सडक निर्माण कार्य नसकिदै वर्षाको पानीले बगाएर लगेको छ । गुणस्तरिय काम हुन नसक्दा सडकका अधिकांस स्थानमा बनाईएका टेवा पर्खाल भत्किएका छन् भने सडकको सिल्मी फाँट स्थित घुम्तिमा करिब ५० मिटर सडक कामै नलाग्ने भएको छ ।

सडकका ठाउँ ठाउँमा खाल्डा खुल्डी भएपछि सवारी चलाउन समेत समस्या भएको सवारी चालक र स्थानीयवासीहरु बताउँँछन् । सडकको सिल्मी बन क्षेत्रमा समेत करिब १ सय मिटर सडक भासिएको छ ।

सडक निर्माणको जिम्मा लिएको फेवा नयाँबाटो जेभिले बर्षाको बाढीले क्षति पु¥याएका कारण कालोपत्रे उप्केको बताएको छ । निर्माण कार्य सम्पन्न नभई सकेकाका कारण भत्किएको कालोपत्रे र भासिएको सडक मर्मत गरिने कम्पनीका निर्देशक राजेन्द्र पहारीले बताए । ‘तोकिएको मापदण्ड अनुसार नै काम भएको तर प्राकृतिक प्रकोपका कारण क्षति भएकाले बीमा कम्पनी संग क्षतिपुर्ती दाबी गर्ने तयारी भएको छ’ उनले भने ‘मापदण्ड अनुसारकै सडक बनाएर हस्तान्तरण गर्छौ ।’

सडक डिभिजन कार्यालय बाग्लुङ्गका प्रमुख डिभिजिन ईन्जिनियर थानेश्वर खत्रीका अनुसार सो सडक खण्डको सिल्मी घुम्तिमा भत्किएको सडक आँफूहरुको डिजाईन भित्र नभएकाले पुनः काम गरिने बताए ।

उनले सडकको कालोपत्रे उप्किएको आँफूहरुलाई पनि थाहा भएको र मर्मतका लागि पुनः निर्माण कम्पनीलाई पठाउने बताए । सडकको सुरुवाती अवस्थमा भू वनोटको बारेमा अध्यायन नभएका कारण यस्तो समस्या आएको कार्यालयले जनाएको छ । ‘यो अहिले गरेको काम होईन’ खत्रीले भने –‘कमजोर भू धरातलका कारण भासिन सुरु गरेको हुनसक्छ ।’

जिल्लाको दक्षिणी पालिकाहरुलाई जोड्ने गरि निर्माण थालिएको सो सडक खण्डको पहिलो चरणमा ४ वर्ष अघी सकिएको १७ सय मिटर सडक पनि ६ महिना नपुग्दै भत्किएको थियो । दोस्रो चरण अन्तर्गत शुरु गरिएको ७ किलोमिटर सडकको ५ किलोमिटरमा काम सकिएको र बाँकी काम अलपत्र अवस्थामा रहेको छ । गत असार मसान्तमा सक्ने भनिएपनि हालसम्म बाँकी २ किलोमिटर सडक भने काम सुरु नै नभएको सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख खत्रीले बताउनुभयो ।

कार्यालयका अनुसार ७ किलोमिटर सडकका लागि करिब १३ करोडमा सम्झौता भएको बताईएको छ । निर्माण कम्पनीलाई समायमा भुक्तानी दिन नसक्दा काम ढिला भएको र कम्पनीलालाई थप हुने समयमा सडकको सबै काम सक्ने गरि तयारी भएको प्रमुख खत्रीले दिए ।

जनप्रतिनिधी र प्रशासनले थाले अनुगमन

पर्वतको कुस्मा र दक्षिणी क्षेत्रलाई जोड्ने चालु अवस्थाको प्रमुख सडक सडक निर्माण भएको दुई महिनामा नै कालोपत्रे उप्किन थालेपछि जनप्रतिनिधी र सम्बन्धित निकायले अनुगमन समेत थालेका छन ।

प्रतिनिधीसभाका सदस्य पदम गिरी र जिल्ला प्रशासन कार्यालय पर्वतले छुट्टाछुट्टै अनुगमन गरेका छन । सडक भासिएको र कालोपत्रे उप्किएको बिषयमा आफुँले गम्भीर रुपमा लिएको बताउँदै गिरीले सम्बन्धित निकायलाई गुणस्तरीय काम गर्न र भत्केको स्थानमा मर्मत गर्न आग्रह गरिएको बताए । ‘सडक निर्माण र पछिल्लो अवस्थाका बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छु’ उनले भने ‘गुणस्तर र समयमा काम गर्ने क्रममा कुनै सम्झौता नगर्न भनेको छु ।’

नयाँबाटामा फेवा कन्ट्रक्सन प्रालिले गरेको सो कालोपत्रे २ महिना पनि टिक्न नसकेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले अनुगमन गरेको छ ।

सडक डिभिजन कार्यालय बाग्लुङ्गसँगको सम्झौता अनुसार उक्त सडक गत असार मसान्तमै सक्नुपर्ने भएपनि निर्माण कम्पनीले समयमा नसकेको, काम सकिएको ठाउँमा पनि गुणस्तरीय कालोपत्रे नभएको पाईएको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्