पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अधुरै, स्थानीय बासिन्दा निरास

0
Shares

विनोदसिंह विष्ट, बैतडी
लक्ष्य अनुसार काम नहँदा प्रदेश नं ७ (सुदूरपश्चिम)को दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अधुरै रहेको छ । गत असारमा सक्ने लक्ष्य सहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन् । गत बर्षको आर्थिक बर्षको असार मसान्त सम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौमा काम शुरु भएको थियो ।

विमानस्थल कालोपत्रे गर्न अझै कार्तिक सम्म कुनुपर्ने निर्माण कम्पनीले जनाएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिंग, फिटिंग र सबबेसको काम सकिएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो । असारमा सक्ने लक्ष्य भएपनि बेलाबेला बर्षाका कारण कालोपत्रे काम नसकिएको हो उहाँले भन्नुभयो“ठेक्का भईसकेपछि विविध कारणले काम समयमै शुरु नहुँदा पनि समस्या भएको हो”

अहिले विमानस्थलको ७५ प्रतिशत काम गरिसकिएको उहाँले दाबी रहेको छ । तर विमानस्थल स्तरोन्नती गर्ने कार्य ५० प्रतिशत मात्रै सकिएको नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यालले बताउनुभयो । सार्वजनिक खरीद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई ६ महिनाको म्याद थप्ने प्रक्रिया भईरहेको छ उहाँले भन्नुभयो“ थपिएको म्याद भित्र विमानस्थल कालोपत्रे गरिसक्नुपर्नेछ”

११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ ।

वि स २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोही अनुसार दुई बर्ष अगाडी विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो ।

सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आह्वान गरेर स्तरोन्नतिको काम शुरु गरिएको हो । प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछीको सवैभन्दा ठुलो पाटन विमानस्थल हो । ९ सय ५० मिटर धावनमार्गको लम्वाई रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठुलो विमानस्थलका रुपमा रहेको छ ।

स्थानीयबासी निराश
गएको असारमा सक्ने भनिएको कालोपत्रे गर्ने कार्य समयमा नसकिने भएपछि स्थानीयबासिन्दा भने निराश भएका छन् । विकास निर्माणका कामहरु तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको नागरिकहरुको भनाई छ । विमानस्थल कालोपत्रे भई सञ्चालनमा आउने आश गरेको भएपनि कालोपत्रे समेत समयमै सम्पन्न नहुँदा निशासा छाएको स्थानिय कपिल केसीको भनाई रहेको छ ।उहाँले भन्नुभयो“आर्थिक अवस्था सुधार तथा पर्यटन प्रर्बद्धन गर्न सघाँउने आसा भएपनि निरासा छाउदै गएको छ ”

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण सुरु भई २०३५ सालदेखि कच्चीमै हवाई सेवा सुरु भएको थियो । २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो ।

पाटन विमानस्थल कालोपत्रे भएर सुचारु भएमा यस क्षेत्रको धामिर्क पर्यटनको विकास हुने धेरैले बताएका छन् । पाटन विमानस्थल सञ्चालनमा आएपछि धेरै कुरामा सुधार आउने स्थानीयहरुको विश्वास छ । विमानस्थल सुचारु भएमा भारतीय पर्यटक समेत आउने र व्यवसाय समेत फस्टायने पाटनका स्थानिय दिनेश विष्टको भनाई रहेको छ । प्रदेश नं ७ अर्थात सुदूरपचिमकै दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल पुनः सञ्चालनको तयारीस्वरुप कालोपत्रे काम सुरु भएको हो ।