गणेश घिमिरे, इलाम
दश महिनादेखि इलाम पशुपतिनगर भन्सार कार्यालय अधिकृत बिहीन् बनेको छ । गत असोज २४ गते भन्सार अधिकृत प्रकाश पोख्रेल सरुवा भएर गएपछि पशुपतिनगर भन्सार कार्यालयमा हालसम्म अधिकृतको दरबन्दी रिक्त रहेको हो ।
बार्षिक करोडौं रुपैंयाँ राजस्व संकलन हुने पशुपतिनगर भन्सार कार्यालयमा अधिकृत तथा अधिकृत स्तरका कर्मचारी नहुँदा बिभिन्न कठीनाई हुने गरेको छ । सो कार्यालय दश महिनादेखि सुब्बा स्तरका कर्मचारीको भरमा चलिरहेको छ । भारतीय नाका दार्जिलिङ्गसँग जोडिएको भन्सार कार्यालय इलाम जिल्लाकै मुख्य नाका हो ।
भन्सार अधिकृतको नहुँदा कार्यालय सञ्चालनका साथै मुख्य भन्सार नाका र विभिन्न छोटी भन्सार नाकावाट हुने चोरी तस्करी नियन्त्रणमा ठुलो समस्या उत्पन्न भएको कर्मचारीहरुको भनाई छ । चोरी निकासी भएर जाने–आउने मालसमान पक्राउ गर्दापनि त्यसको लिलामी प्रक्रियामा सबैभन्दा बढी कठिनाई हुने गरेको छ ।
भन्सार ऐन अनुसार भन्सारले पक्राउ गरेका तथा प्रहरी लगायतका अन्य निकायवाट पक्राउ गरी बुझाईएका मालसामानको लिलामि प्रक्रिया सञ्चालन तथा मुद्दा निर्णय गर्ने अधिकार कम्तीमा अधिकृत तहका कर्मचारीलाई मात्र रहेको छ ।
‘तत्काल उक्त समस्याको समाधानका लागि विभागले मेची भन्सार कार्यालय काकडभिट्टा झापालाई पशुपतिनगर भन्सार कार्यालयको मुद्दा निर्णय तथा लिलामी प्रक्रिया लगायतका कार्य गर्नका लागि अख्तियारी दिएको छ’ कार्यालयका नासु अच्युत ढकालले भने ‘मुद्धालाई किनारा लगाउने काममा सबैभन्दा बढी बाधा परिरहेको छ ।’
भन्सार अधिकृत नभएदेखि यता भन्सारमा २६ वटा मुद्धा दर्ता भएको छ । मुद्धा दर्ता भएको ६ महिनाभित्र वारीसे र तीनमहिनाभित्र बेवारीसे मुद्धाको किनारा लगाइसक्नु पर्ने कानुनी प्राबधान छ । तर दशमहिना बित्दापनि मुद्धाको किनारा लाग्न नसकेको कार्यालयले जनाएको छ । त्यहाँ हाल अधिकृत बाहेक पाँचजना कर्मचारी कार्यरत छन् ।
अधिकृतको दरबन्दी खालि हुँदा सोही कार्यालयका एक कर्मचारीलाई बरिष्ठताको आधारमा निमित्त प्रमुखको जिम्मवारी दिएर कार्यालय सञ्चालनको सामान्य कामकाज भइरहेको छ ।











प्रतिक्रिया