यमलाल भुसाल, बुटवल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिएको नगद १२ लाख र २४ लाख रुपियाँ बैंकमा जम्मा गरेको भौचरसहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका इन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यती ठूलो रकमसहित पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ । रुपन्देहीको सिद्ध्रार्थ नगरबाट इन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई गाडीमा पैसा लिएर घर जाँदै गर्दा हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार बिहान ११ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका श्रीमान्श्रीमतीलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । आर्थिक वर्ष समाप्त भएको र वर्षभरि गरेका कामको कमिसनस्वरुप सेवाग्राहीवाट रकम असुली भ्रष्टाचार गरेको हुन सक्ने अनुमानसमेत लगाइएको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिँदै गरेको नगद १ लाखसहित सडक आयोजनाका सबइन्जिनियरलाई पक्राउ गरेको छ ।
गुल्मीको तम्घास, सिमलटारी प्युठान सडक आयोजनाका सव ईन्जिनियर प्रकाश झालाई शनिबार बिहान उनकै निवाष तम्घासवाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार सबइन्जिनियर झाले सेवाग्राहीसँग निर्माणकार्यको रनिङ बिल पास गरेबापत कमिसनको रकम घुस लिँदै गर्दा रग्गेहात पक्राउ गरिएको बताउनु भयो । झालाई पक्राउ गर्न बुटवलवाट टोली खटाइएको थियो । पक्राउ परेका झालाई गुल्मीवाट बुटवल ल्याई थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया