भगवती तिमल्सिना, काठमाडौं ।
नेपाल सरकारका प्रतिनिधि र प्रा.डा.गोविन्द केसीका प्रतिनिधिबीच बुधबार भएको बार्ता बिधेयक संशोधनको बिषयमा कुरा नमिल्दा विना निष्कर्ष टुंगिएको सरकारी वार्ता टोलीका प्रतिनिधि डा.गुणराज लोहनीले जानकारी गराउनुभयो ।
डा.लोहनीले वार्तामा विधेयक सशोधनको कुरा ११ गतेको मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने सरकारको भनाईप्रति डा.केसीका तर्फबाट वार्तामा बस्नुभएका प्रतिनिधिहरुले चित्त नबुझाएपछि अर्को वार्ताको टुंगो नलाग्दै सकिएको जानकारी गराउनुभयो ।
यता डा.केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा.अभिषेक राज सिंहले सूचि बमोजिमको सुधार सहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउनुभयो ।
उहाँले डा.केसीको स्वास्थ्य अवस्था नाजुक भैसक्दा समेत सरकारले छलकपटी काम गरि संवेदनहिन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेकोले डा.केसीको स्वास्थ्यमा अपुरणीय क्षति पुग्ने अवस्था आएको बताउनुभयो । यो अवस्थामा थप अलमल गरेर डा.केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौ । सरकारले हलो अडकाउने काम गरेको समेत उहाँले आरोप लगाउनुभयो ।
डा.केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बनेको र उच्च खतरामा पुगेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । डा.केसीले हिजोका कुरा आज बिर्सन लाग्नुभएको समेत उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलनको आयोजना गरि बुधबार जानकारी गराएका छन् ।
केपी ओली सरकारले वार्ता टुग्याउन नभै लम्ब्याउन र डा.केसीलाई मार्न खोजेको आरोप चौतर्फी रुपमा आईरहँदा पनि सरकार अझै वार्तालाई निष्कर्षमा पुर्याउनुको सट्टा अड्को थाप्दै बसेको छ ।
डा.केसीसँग १४ औं पटक सम्म सम्झौता गरेर कार्यान्वय गर्छौ भन्ने व्यक्ति केपी ओली आफै सरकारमा रहँदा झन डा.केसीलाई तड्पाएर शास्ती दिन थालेको आरोप लगाउन थालिएको छ । डा.केसीको अनसन शुरु गरेको २६ औं दिन भैसक्यो ।
जुम्लामा पुगी असरा १६ गतेबाट अनसन शुरु गर्नुभएको डा. केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याई उपचार गर्दै वार्ता गर्ने भन्दै जुम्लाबाट अनसन बसेको २० औं दिनका दिन अपहरण शैलीमा उठाएर काठमाडौ ल्याएको पनि ६ दिन बिति सकेको छ । चौतर्फी बिरोधका बाबजुत मंगलबारबाट शुरुगरेको वार्तामा डाक्टर केसीका माग सम्बोधन हुने कतै संकेत समेत नदेखिएको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।
डा.केसीलाई सुविधा सम्पन्न अस्पताल ल्याएको भनिए पनि डा केसीको उपचारका लागि अहिले सम्म औपचारीक रुपमा चिकित्सक टोली गठन समेत गरेको छैन । आवासीय चिकित्सक र शुभचिन्तक चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराईरहेका छन् । उहाँको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएको रिपोर्ट सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा आवासिय चिकित्सक तथा शुभचिन्तक चिकित्सकहरु चिन्तित हुँदै अताल्लिएका थिए ।
सोही अवसरमा डा.केसीका आफन्त किशोर केसीले भन्नुभयो–चिकित्सक टोलीनै बनाएर डा.केसीको स्वास्थ्य अवास्थाको बारेमा २४ सैं घण्टा निगरानी गर्नुपर्नेमा “रातमा त झन् कोही पनि हुँदैन ।” आवासीय चिकित्सकहरुले पत्रकार सम्मेलनमा जानकारी गराउँदै भने आफूहरुले ड्युटीको समय मिलाउँदै डा केसीको रेखदेख गरिरहेका छौ । उक्त जानकारी अनुसार डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनिसकेको छ । उहाँको सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ ।
डा.केसीको उपचारमा संलग्न डा लक्ष्मण भुसालका अनुसार रगतमा सुगरको मात्रा अत्यन्त कम छ, उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुन्छ । साथै रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने अवस्था आउन सक्छ ।
डा. केसीको रक्तचाप पनि अत्यन्त कम छ । यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् । सोही अवसरमा डा.केसीले विस्तारै सम्झना शक्ति गुमाउँदै जानुभएको समेत डा.भुसालले जानकारी गराउनुभयो । यही अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, मुर्छा पर्ने र कोमामा जाने अवस्था आउन सक्छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यो अवस्था भनेको डा.केसीलाई आईसीयूमा राखेर उपचार गर्ने हो तर उहाँले पहिला देखिनै आफु होसमा रहेसम्म आईसियुमा नबस्ने अडान राख्दै आउँनुभएको छ ।











प्रतिक्रिया