टिमुरे पहिरो अपडेट: ७ बेपत्ता, १२ घाइते

0
Shares

काठमाडाैं ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढी नाका नजिकै टिमुरेमा पहिरो जादाँ सातजना बेपत्ता भएका छन् ।

गएमध्यराती अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ ७ जना बेपत्ता भएकाले उद्वारकार्य जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पहिरोले दुई घर पुरिदा त्यहाँ रहेका मािनसहरू सम्पर्कविहिन भएका हुन् ।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चेकपोष्ट समेत पुरिएको रसुवा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

पहिरोमा परि १२ जना घाइते भएका छन् । घाइतेको उद्दार गरी उपचारको लागि बिभिन्न अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा उद्दारको काम मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई अहिले बिहान मात्रै काठमाडौं तर्फ पठाइएको हो । पहिरो गएको स्थानमा थप जोखिम रहेको र रातको समयमा परेकाले क्षतिको एकिन विवरण आउन बाकी रहेको रसुवा प्रशासनले जनाएको छ ।

पहिरो पश्चात् चीनसंग सञ्चालनमा रहेको एकमात्र नाका रसुवागढी नाका अबरूद्व भएको छ ।