सुन तस्करीको नयां रुट बैकक

0
Shares

काठमाडौ । बिगत केही दिन यता अबैध रुपमा सुन ल्याउने गिरोह सक्रिय हुन थालेको छ । सरकारले बिभिन्न देशबाट नेपाल भित्रने सुनका बारेमा अनुसन्धानलाई तीव्र बनाएको भएपनि अबैध रुपमा सुन भित्रने क्रम भने जारी रहेको छ ।

बिषेश गरी चीनबाट अबैध रुपमा भित्रने सुन सुरक्षाकर्मीले चेकजांचलाई कडा बनाएपछि अहिले तेस्रो मुलुकबाट हवाइमार्ग हुदै सुन नेपाल भित्रन थालेको छ । नेपालमा सुन भित्रने क्रम नरोकिएपछि सुनको राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहसम्म पुग्न सरकारले प्रयास गरेको भएपनि त्यो बिभिन्न कारणले सफल हुन सकेको छैन ।

यस अघि चीन,हङकङ, सिंगापुर, खाडीका बिभिन्न मुलुक, मलेसिया बाट सुन तस्करी हुने गरेको भएपनि अहिले भने थाइल्याण्डबाट सुन तस्करी हुन थालेको छ ।

बिषेश गरी मलेसिया लगायत खाडी मुलुकबाट फर्कने नेपाली कामदारलाई प्रयोग गरेर सुन माफियाहरुले सानो सानो परिमाणमा सुन नेपाल पठाउने र नेपालमा रहेका एजेन्ट मार्फत संकलन गर्ने कामलाई समेत सुरक्षा निकायले निस्तेज बनाइदिएपछि तस्करहरु अहिले फरक भुमिकामा देखिन थालेका छन ।

केही दिन यता मुलुकको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्करी हुने क्रम रोकिएको छैन । प्रहरीले भने सुन तस्करी बढेको भन्दापनि प्रहरीको सक्रियता बढेको कारण अबैध रुपमा भित्रने सुन पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले तीन दिन अघि भारतीय नागरिकले मलद्धारमा लुकाएर ल्याएको ३ किलो सुन सहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले सुन कुन प्रयोजनकालागि ल्याएको भन्ने एकिन बिवरण दिन नसकेको भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले बताउनु भयो ।

उहांले भन्नुभयो – अहिले हामी अबैध रुपमा नेपाल भित्रने सुनको बारेमा तीव्र खोजीमा छौ त्यसैको परिणाम हो लगातर बिमानस्थलमा सुन पक्राउ पर्न थालेको छ ।

बुधबार पनि बिमानस्थल प्रहरीले १ करोड ७८ लाख ५५ हजार बराबरको ३ किलो ६सय ८० ग्राम सुन सहित थाइ नागरिकलाई पक्राउ गरेको छ । ती थाइ नागरिकले बेल्टको टाउको, चावी, चुर, सिक्का, चुरोट राख्ने एक्सरे, माला बनाएर उक्त सुन ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।