२१ दिनपछि नयाँ कानुन, सबै संयन्त्रको तयारी पूरा

0
Shares

प्रशान्त वली, काठमाडौं
नयाँ मुलुकी ऐन लागू हुन अब २१ दिन मात्रै बाँकी छ । सर्वोच्च अदालतले आगामी भदौ १ देखि लागू हुने नयाँ मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पूरा भएको जनाएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी ऐन २०७४ कार्यान्वयनका लागि गठन गरिएका समितिले आफ्नो काम पूरा गरिसकेका छन् ।

ऐन कार्यान्वयनका लागि नियमावली, निर्देशिका, दिग्दर्शनका मस्यौदाहरु एवम् विद्यमान अदालतसम्बन्धी नियमावलीहरुमा संशोधनका लागि मस्यौदाहरु तयार भइसकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

ऐनलाई चालू अवस्थामा ल्याउन सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा नियमावली परिमार्जन विषयक समिति, सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरेको संयोजकत्वमा दिग्दर्शन तयारी समिति, सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको संयोजकत्वमा निर्देशिका समिति गठन गरिएको थियो । समितिले मुलुकी देवानी कार्यविधि संहिता ऐनको कार्यान्वयनका लागि दिग्दर्शन तयार गरेको छ ।

यस्तै, मुुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधि संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको कार्यान्वयनका लागि अदालत व्यवस्थापन, म्याद तामेली, धरौटी जमानत र फैसला कार्यान्वयन सम्बन्धी निर्देशिकाहरुको मस्यौदा तयार भइसकेको सर्वोच्चले जनाएको छ । ती नियमावली, दिग्दर्शन र निर्देशिकालाई सर्वोच्चको बैठकले पारित गर्न मात्रै बाँकी छ ।

सर्वोच्चका प्रवक्ता पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नयाँ कानुन कार्यान्वयनका लागि मातहतका अदालत तयार छन् । प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको छ । अब फुलकोर्टको बैठकले ऐन कार्यान्वयनका लागि तयार पारेका निर्देशिका पारित गर्न मात्रै बाँकी छ । ’
हालसम्म प्रयोगमा रहेको मुलुकी ऐनलगायतका कानुनलाई प्रतिस्थापन गर्दै मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ कार्यान्वयनमा आउनेछ ।

जंगबहादुर राणा बेलायत भ्रमण गएपछि बेलायती कानुनी प्रणालीअनुसार १९१० मा पहिलोपटक मुलुकी ऐन बनाउन लगाउनुभएको थियो । त्यसलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान जस्ताको तस्तै राखिएको थियो ।