वार्ता अनिश्चित: ‘सरकारले हलो अड्कायो’

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
सरकार र डा.गोविन्द केसीका प्रतिनिधिबीच बुधबार भएको बार्ता बिधेयक संशोधनको बिषयमा कुरा नमिल्दा विना निष्कर्ष टुंगिएको छ ।
सरकारी वार्ता टोलीका प्रतिनिधि डा.गुणराज लोहनीले विधेयक सशोधनको विषय यही साउन ११ गते बस्ने मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने आफूहरूको भनाइप्रति डा.केसीका प्रतिनिधिहरुले चित्त नबुझाएपछि अर्को वार्ताको समेत टुंगो नलागेको दावी गर्नुभयो ।

डा.केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा.अभिषेक राज सिंहले सूचिबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउनुभयो । उहाँले डा.केसीको स्वास्थ्य अवस्था नाजुक भैसक्दा समेत सरकारले छलकपटी गरी विधेयकसम्बन्धी दफावार छलफल गर्न नचाहेको बताउनुभयो । ‘यो अवस्थामा थप अलमल गरेर डा.केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न तयार छैनौँ, तर सरकारले हलो अड्काउने काम ग¥यो’ उहाँले आरोप लगाउनुभयो ।

उता डा.केसीको स्वास्थ्य उच्च खतरामा पुगेको उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन मार्फ बताएका छन् । उहाँले कुरा बिर्सन थाल्नुभएको उनीहरूको भनाइ छ । उपचारमा संलग्न डा लक्ष्मण भुसालका अनुसार रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत हुनसक्नुहुनेछ । रगतमा पोटासियम र मुटुको चाल अत्यन्तै कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्छ ।

यही अवस्था रहिरहे दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, मुर्छा पर्ने र कोमामा जाने अवस्था आउन सक्ने डा.भुसालले जानकारी दिनुभयो । सोही अवसरमा डा.केसीका आफन्त किशोर केसीले आत्तिदै भन्नुभयो–चिकित्सक टोली नै बनाएर स्वास्थ्य अवास्थाबारे २४ सैं घण्टा निगरानी गर्नुपर्नेमा “रातमा त झन् कोही पनि हुँदैन ।”

२६ दिन अघि जुम्लाबाट अनसन शुरु गर्नुभएका डा.केसीलाई सरकारले २० औं दिन सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएको थियो ।