कानुनमन्त्रीले भावुक हुँदै भने– ‘देश र जनताका लागि राजीनामा’

0
Shares

प्रशान्त वली, काठमाडौं
‘मेरी श्रीमती पनि राजनीतिक व्यक्ति हुन्, हरेक क्षणमा म सल्लाह लिने गर्छु, यसरी नै चलेको छ हाम्रो राजनीतिक जीवनयात्रा’, श्रीमती उषाकला राईसँगै बसेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै भने– ‘म एउटा गरिब परिवारमा जन्मिएको, निरन्तर संघर्ष गरिरहेको छु, मेरो जीवन रहेसम्म यो प्रक्रियामा लागिरहन्छु ।’
पत्रकारको घुइँचोमा हाँस्दै पस्नुभएका मन्त्री तामाङ निकै बेर अलमलिनुभयो । मन्त्रालयका सचिव तथा अन्य कर्मचारी के बोल्ने के नबोल्ने भन्दै अलमलमा परे ।

वातावरण शान्त र स्तब्ध थियो । अनि मन्त्री तामाङले बोल्न खोज्दा पनि शब्द आएन, म मात्र के भनिएको थियो, भक्कानिएर बोली नै आएन, श्रीमती उषातिर हेर्नुभयो, सबैका आँखा रसाए । कार्यक्रमको पहिलो खण्डमा मन्त्रीले मन दुखाएर भए पनि मन्त्रालयले गरेका पछिल्ला गतिविधि भन्न भ्याउनुभयो । त्यसमा पटक्कै पनि खुसी छाएको थिएन, राजीनामा दिनुपर्ने पीडाले मन्त्री अत्तालिनुभएको थियो ।

लामो समयमा मन्तव्य राख्दा समेत राजीनामा दिने वा नदिने भन्ने केही खुलेन, आफूले गरेका राम्रा काम कतै रोकिएलान् कि भन्ने चिन्ता भने थियो । भ्रष्टाचार अन्त्य गर्ने र सुशासनको प्रत्याभूति दिने योजनामाथि प्रहार भएको मन्त्रीको भनाइ थियो । कसैको पनि नाम नलिई उहाँले आफूमाथि षड्यन्त्र भएको तर पनि देशको शान्ति, प्रगति र समृद्ध नेपाल निर्माणको सपना साकार गर्न लागिरहने बताउनुभयो ।

श्रीमती उषाकला प्रदेश नम्बर १ को समानुपातिक सांसद हुनुहुन्छ । २०६४ सालमा समानुपातिक सांसद रहँदा उषाले उठाएका अधिकांश योजनामा आफूले त्यसपछि सांसद हुँदा पूरा गरेको पनि मन्त्रीले बताउनुभयो । मन्त्री तामाङले २०६४ सालमा संविधानसभाको निर्वाचन हार्नुभएको थियो ।

आफू सधैं नै महिलाको पक्षमा वकालत गर्दै आएको तर आज आएर महिलाकै बारेमा बोल्दा यो अवस्था आएको भन्दै भावुक हुनुभएका मन्त्रीले डा. उपेन्द्र देवकोटा पनि श्वासप्रश्वासकै डाक्टर अन्तिममा त्यही समस्याले उहाँको ज्यान गएको भन्दै उहाँले आफूलाई पनि यस्तै अवस्था आइपरेको बताउनुभयो ।

‘महिला मलाई जन्म दिने आमा, जीवन धान्ने साथी र मेरी छोरी पनि हो’, मन्त्री तामाङले भन्नुभयो– ‘म अलि भावुक मान्छे हुँ, कसैलाई बिगार्ने वा समाप्त पार्ने उद्देश्यले केही काम गरेको छैन, हिंसामा परेका घटनाको उजागर गरेको हुँ ।’ उहाँले जुन विषयलाई लिएर त्यही विषयले लखेट्ने काम भएकोमा दुखेसो गर्नुभयो । कानुन मन्त्री तामाङले आफूमाथि अतिरञ्जित गरिएको भन्दै देश र जनताका लागि राजीनामा दिएको बताउनुभयो । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्ति विवादास्पद भएपछि कानुनमन्त्री तामाङले मंगलबार राजीनामा दिनुपरेको हो ।

‘कतिपय तत्व मेरो विरुद्ध लागे, मेरो तर्फबाट पनि केही कमजोरी भए होलान्, म अत्यन्तै दुखित छु, देश र पार्टीलाई सफल बनाउन र घटनालाई अतिरञ्जित हुन नदिन राजीनामा दिएको हुँ’ –पत्रकार सम्मेलनमै रोएका मन्त्री तामाङले जनतालाई शिरमा राखेर सदैव जनताको हितमा काम गर्ने बताउनुभयो । उहाँ पत्रकार सम्मेलनपछि प्रधानमन्त्रीलाई राजीनामा दिन जानुभएको थियो ।

बीचमा जोस जाँगरसहित बोले पनि अकमकिएर भावुक बन्नुभएका तामाङको ४ पटकसम्म धेरैबेर वाक्य रोकियो र असुविधाका लागि क्षमाप्रार्थी छु भन्नुप¥यो । यी सबै कानुनहरु….., हामीलाई विश्वास गर्ने नेपाली जनता….. देखि भन्नै सक्नुभएन । आफ्नै अग्रसरतामा सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

भ्रष्टाचार न्यूनीकरण र सुशासन कायमका लागि कानुनमा सुधार आवश्यक रहेको भन्दै मन्त्री तामाङ भन्नुहुन्छ– ‘सम्पूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति सार्वजनिकीकरण गर्नुपर्छ । यो विषय मन्त्रिपरिषद्मा दर्ता भइसकेको छ । बुझाएको सम्पत्ति कसैको पनि गोप्य रहँदैन ।’

माधवकुमार नेपालको समूहबाट तामाङ मन्त्री बन्नुभएको थियो । तत्कालीन नेकपा एमालेको निर्वाचित केन्दीय सदस्य तामाङले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभाको निर्वाचन जितेर पहिलोपटक मन्त्री बन्नुभएको थियो । उहाँले २०७० को संविधानसभा पनि जित्नुभएको थियो ।

सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न आग्रह गरेको थियो ।