भगवती तिमल्सिना, काठमाडौं
अनसन बसेको २५ औं दिन मंगलबारदेखि सरकारद्वारा गठित वार्ता टोली र प्रा.डा. गोविन्द केसी पक्षवीच बार्ता शुरु भएको छ ।
मंगलबार साँझ ६ बजे सरकार र डा.केसीका प्रतिनिधिबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको थियो । वार्ता बुधबार विहान ९ गते पुनः बस्ने जनाइएको छ । धेरै विषयमा समझदारी भइसकेको र बाँकी विषयमा बुधबारको वार्ताबाट समझदारी हुने सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र डा. केसी वार्ता टोलीका संयोजक डा.अभषेकराज सिंहद्वारा जारी संयुक्त रुपमा प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।
समाचार स्रोतका अनुसार सकारात्मक रुपमा अघि बढेको वार्तामा डा. केसीले प्रस्तुत गर्नुभएका ७ वटै बुँदा र संसदमा दर्ता भएको बिधेयकमा संशोधन गर्नुपर्ने बिषयमा छलफल भइरहेको जारी छ वार्ताले मूर्त रुप लिए पनि मंगलबारै टुंग्याउन नसकीएकोले बुधबार पुनः बस्ने निर्ण गरिएको बताइएको छ ।
वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी तथा डा केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजनमा, सुरेन्द्र भन्डारी, ओमप्रकाश अर्याल, डा अभिषेक राज सिंह र सुमीत पाण्डे सहभागी हुनुहुन्छ ।
स्मरणीय छ, उहाँको जीवन रक्षा र उहाँको मागको समर्थन गर्दै चिकित्सकहरू विरोधमा उत्रिएका छन् ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनहरु डा मदन उपाध्याय, डा रमेशकान्त अधिकारी र डा केसीका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहबीच अनौपचारिक छलफल भएपछि दुवै टोलीबीच वार्ताको वातावरण तय भएको हो ।
वार्ताका लागि वातावरण तय गर्न नेता नेम्वाङ्ले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटाउनुभएको थियो । उहाँहरुसँगको छलफलका क्रममा नेता नेम्वाङसहित काउन्सिलका अध्यक्ष डा बास्कोटा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायतसँग अनौपचारिक छलफल भएको थियो ।











प्रतिक्रिया