ग्राण्डीमा दुर्घटनाग्रस्त हेलिकप्टर अस्पतालको छतबाट तल झारियो

0
Shares

गत असार १५ गते शनिवार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर दुईदिनको प्रयासपछि अस्पतालको छतबाट तल झारिएको छ ।

अस्पतालको १४ तल्ला माथि छतमा दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिम २ दिनभर ब्यस्त रहेको अस्पतालका संचार अधिकारी बिनोद पौडेलले जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ–हेलिकप्टर हटाइसकेपछिको अवस्थामा हाम्रो रुफटप हेलिप्याड अव सुरक्षित रहेको समेत जानकारी गराउन चाहन्छौं ।

पौडेल भन्नुहुन्छ–यस कार्यमा सलग्न रहनुभएका सबैलाई ग्राण्डी अस्पताल परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौ । त्यसैगरी, दुर्घटना भएलगत्तै ग्राण्डी अस्पतालको सुरक्षा तथा रेस्क्यु टोली, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल तथा सिम्रिक एयरको इन्जिनियरिङ टोलीले संभावित क्षति न्यूनिकरणमा खेल्नुभएको महत्वपूर्ण भुमिकाका लागि हामी आभारी छौं ।

दुर्घटनापछि पनि ग्राण्डी अस्पतालमा देशका बिभिन्न भागबाट बिरामीको उद्धार गरी ल्याउने मेडिकल इभ्याकुएशन तथा इएमएस सेवा लगायतका सम्पूर्ण सेवाहरु सुचारु रहेको ब्यहोरा समेत अनुरोध छ ।

अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको ९ एन एलआर कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको पौडेलले जानकारी गराउनुभयो ।