प्रशान्त वली, काठमाडौं ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ ।
प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।
संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् ।
जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखी छोरीको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उहाँ विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ–‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो । प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ।’
उजुरीकर्तामध्ये एक जनाले नाम नभन्ने सर्तमा भन्नुभयो, –‘मैले पर्याप्त प्रमाणका आधारमा प्रधानन्यायाधीशबिरुद्ध उजुरी गरेको छुं । आबश्यक परेर समितिले बोलाए हाजीर हुन तयार छुं ।’
संसदीय सुनुवाइ समितीका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संसदीय सुनुवाई विशेष समितिको सोमवार बसेको बैठकले जोशीको सुनुवाई यही १० गते विहीवार गर्ने निर्णय गरेको छ । समितिले उजुरीकर्तासंग भने आज मंगलबार नै छलफल गर्ने भएको छ । उहाँमाथि परेको उजुरीमाथि सोमबारदेखि नै छानबिन सुरु भएको जनाइएको छ । सचिवालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी सकंलन गर्ने व्यवस्था मिलाएको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जोशी प्रधानन्यायाधीश बन्नुहुनेछ ।
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, अमृता थापा, निरुदेवी पाल, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रियसभाका सांसद् सुमनराज प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्र नारायण देव रहनुभएको छ ।











प्रतिक्रिया