काठमाडौ । बिभिन्न माग राखेर अनसनमा बस्दै आउनु भएका डा.गोबिन्द केसीको शरिरमा भएका परिवर्तनका बारे पहिलो पटक नयां जानकारी प्राप्त भएको छ ।
८० वर्षीय आमा मित्रकुमारी केसीको विशेष आग्रहमा डा. केसीले रगतको परीक्षण गर्न सहमत हुनु भएको थियो । आईतबार साझ अनसनरत छोरालाइ भेट्न टिचिङ अस्पताल पुग्नु भएकी आमा मित्रकुमारीले छोरा डा. केसीले स्वास्थ्य परिक्षण गर्न नमानेको थाहा पाएपछि विक्षिप्त हुनु भएको थियो । भेट्दा केही नभन्नुभएपनि टेलिफोनमा भावुक हुँदै छोरा डा. केसीलाई स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नु भएको थियो ।
डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहनु भएकी डा.दिव्या सिंह शाह केहिदिन यता डा.केसीको शरिरमा आएको परिवर्तनका कारण चिन्तित हुदै आउनु भएको छ । बोल्न नसके पनि करिब ४५ मिनेटसम्म डा.दिव्याले बताउनु भएको कुरा सुनिसकेपछि र आमाको विशेष आग्रहमा डा.केसी रगत परिक्षण गराउन सहमत हुनु भएको थियो ।
यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने थप चिन्तित भएका छन् । रगतका सम्पुर्ण ’प्यारामिटर’हरु असामान्य हुदै गएका छन ।
सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोशिका भएका बिरामीलाइ यदि कुनै संक्रमण भइहाले , त्यसले भयावह रुप लिने चिकित्सकहरुले बताएका छन ।
यसैका कारण भेट्न आउने मानिसहरुलाइ १० मिटर परै राख्ने गरिएको छ र डा.केसी अनशन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ’ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने व्यवस्था समेत गरिएको छ । यसले केही हदसम्म संक्रमण रोक्ने भएतापनि अब भने थप सावधानी नअपनाए , डा.केसीलाई गम्भीर खाले संक्रमण हुन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन ।
रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ । शरिरका सबै अङ्गहरुले काम गर्ने प्रमुख तत्व ग्लुकोजबाट प्राप्त हुने गर्दछ । यसको मात्रामा कमि आएसँगै अङ्गहरु बिस्तारै काम नगर्ने अवस्थामा पुग्ने गर्दछ । ग्लुकोजको मात्रा घटेपछि गम्भीर असर ब्रेनमा देखिने चिकित्सकहरु बताउ छन ।
जुम्लामा रहदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै बढ्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार , यहि अवस्था रहे डा.केसीको मुटु जुनसुकै बेला पनि बन्द हुनसक्छ । यति कम पोटासियममा पनि किन इसिजिमा परिवर्तन देखिएन भनेर चिकित्सकहरु छ्लफलमा जुटेका छन । अव इसिजिमा परिवर्तन आयो भने डा.केसीलाइ सिसियुमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताइसकेका छन् ।
रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ । एकैछिन पनि अक्सिजन नलगाउदा उहाँलाइ निकै अप्ठ्यारो हुन्छ , कहिलेकाहि त हप्याक–हप्याक नै हुने गरेको छ । अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको छ , डा.केसीसँग चौबिसै घण्टा साथ रहदै आउनु भएका उहाँको भाइ किशोर केसीले जानकारी गराउनु भएको छ । केही दिनदेखि वाकवाकी लाग्ने समस्याले पनि डा.केसीलाइ आक्रान्त बनाएको छ ।
२४ दिन लामो सत्याग्रहका कारण शक्तिहिन बन्नुभएको डा.केसी दोहोरो संवाद पनि गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।











प्रतिक्रिया