प्रकाश पन्त, पातलेखोला दैलेख
दैलेखको गँुरास गाउँपालिका–८, पातलेखोलामा बसिरहेका राउटे समुदायले स्थायी परिचयपत्र प्राप्त गरेको छन । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचय पत्रका आधारमा उनीहरुले अवदेखि सामाजिक सुरक्षा भत्ता पाउनेछन ।
स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख छ । वषैदेखि फिरन्ते जीवन विताउदै आएका राउटेलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन स्थायी परिचयपत्र वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनु भयो ।
दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दाङ, अछामगायतका जिल्लामा बसोबास गर्ने राउटे समुदायले अव गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, गाउँ पालिकाका अध्यक्ष ओली र दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गर्नु भएको हो ।
फोटोसहितको परिचयपत्र वितरणको कार्यक्रममा राउटेका महामुखिया महिनबहादुर शाहीले परिचय पत्रकको सट्टा रुपियाँ पैसा र खाद्यान्न दिन आग्रह गर्नु भएको थियो । यो वस्तीमा अहिले ४२ घरमा एक सय ४९ जना राउटे छन ।











प्रतिक्रिया