हेटौंडा, (नेस)
केही दिनअघि शुरु गरिएको सडक कालोपत्रे उप्किएपछि हेटौंडा–६, हात्तीलेटका स्थानीय आक्रोशित भएका छन् । चौघडा–रंगशाला सडकअन्तर्गत् कालोपत्रे उप्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।
अघिल्लो दिन साँझ गरिएको कालोपत्रे भोलिपल्ट विहान उप्किन थालेको हो । दिनदिनै पानी परिरहेको अवस्थामा निर्माण व्यवसायीले चिसो जमिनमा कालोपत्रे गरेको स्थानीयको भनाइ छ । निर्माण व्यवसायीले कमसल गिट्टी र बालुवा छरेर खाल्डो पुरेको स्थानीयको गुनासो छ ।
उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । माटोमाथि गरिएको कालोपत्रेका कारण यस्तो भएको स्थानीयले बताए । वडा कार्यालयले काम नगरेको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेपछि केही दिनअघि काम थालेको सुभेच्छा निर्माण सेवाले कमसल काम गरेको स्थानीयको भनाइ छ ।
आव २०७३÷०७४ को बजेटअनुसार ठेक्का लिएको उक्त निर्माण सेवाले २०७४ वैशाखअघि भएको सम्झौता समाप्त भएर यही असारसम्मका लागि सम्झौताको म्याद थप गरेको थियो ।
असार सकिनै लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो काम सम्पन्न गराउन आवश्यक प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयलाई वडाले पत्राचार गरेको थियो । ५५ लाख रुपियाँ लागतमा निर्माण हुन लागेको सडकको लम्बाइ २.४ किलोमिटर छ ।
वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले कालोपत्रेबारे उपमहानगरपालिकाका इञ्जिनियरसहित आफूले निगरानी बढाएको बताउनुभयो । जनप्रतिनिधिको निगरानी र स्थानीयको दबाबपछि उप्किएको ठाउँमा निर्माण व्यवसायीले टालेर गए पनि काम गुणस्तरीय नभएको स्थानीयको भनाइ छ ।











प्रतिक्रिया