पहिरोले तीन घर पुरियो, ३४ घर जोखिमा

0
Shares

नुवाकोट, (नेस)
तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले शनिबार तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् ।

बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सामाजिक परिचालक धुव्र तामाङले बताउनुभयो । अबिरल आएको वर्षाको कारण ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरी बस्तीमा पहिरो बगेपछि वीरबहादुर तामाङ, राजकुमार तामाङ र श्यामबहादुर भुलेलको घर पुरिएको हो । खोलामा बाढीको सतह बढेपछि घर छोडेर उनीहरु सुरक्षित स्थानतर्फ लागेको समयमा आएको पहिरोले घर पुरेर त्यहाँ रहेका अन्नबाली, लत्तकपडा भाडावर्तन सबै क्षति भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।

कुँवरका अनुसार पहिरोले घर पुरिँदा भुजेलले सञ्चालन गर्दै आएको किराना पसलमा रहेका १५ लाख रुपैयाँभन्दा बढीको सामग्री क्षति पुगेको छ भने पुरिएको घरको क्षतिको लगत निकाल्न बाँकी छ । पहिरोले डाढे र काल्चेका ३४ घरधुरी परिवार उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको गाउँपालिकाको उपाध्यक्ष इश्वरी उप्रेतीले जानकारी दिनुभयो ।

उक्त स्थानलाई २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको कारण जोखिममा रहेको बस्तीको रुपमा भूगर्भ्विद्ले पहिचान गरेका थिए । ती बस्तीलाई सरकारी तवरबाट समयमा नै स्थानान्तरण गर्न सहयोग नगर्दा बर्षायाममा बासस्थानविहीन हुनुपरेको पीडित राजकुमार तामाङले गुनासो गर्नुभयो ।

यसैबिच लगातारको वर्षाले नुवाकोटको बाहुनबेसि–खरानीटार सडकखण्डमा भीषण पहिरो गएको छ । जिल्लाको पुर्बी भेगबाट आवतजावत गर्ने एक मात्र बाटो उक्त सडकखण्डमा पहिरो जादा यातायात अबरुद्ध बनेको छ ।