‘साउनदेखि प्रदेश ३ मा विकासको लहर’

0
Shares

नेपाल समाचारपत्र, चितवन
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल नेत्रज्योति संघ चितवन शाखाको २०औं साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मेडिकल हवका लागि चितवन योग्य जिल्ला भएकाले हवको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले नेपाल सरकारको योजना अनुसार प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्दा आईकियर सेन्टर पनि स्थापना गर्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले स्वास्थ्यका बारेमा विभिन्न कार्यक्रम संचालन गरेता पनि आँखाको क्षेत्रमा भने ध्यान दिन नसकेको बताए । स्वास्थ्य र शिक्षा विना समृद्ध प्रदेश संभव नभएको भन्दै यस तर्फ प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताए ।

मूख्यमन्त्री पौडेलले चितवन र मकवानपुरलाई एकीकृत विकास मार्फत जोड्नुपर्ने बताए । प्रदेश सरकार कानुन निर्माणको तहमा नै रहेको भन्दै उनले पाँच महिनाको अवधिमा अधिकतम काम गर्न प्रयास गरिएको दावी गरे । उनले साउन लाग्ने वित्तिकै विकासको लहर चलाउने बताए । सरकारको मात्रै मुख ताक्नु भन्दा पनि प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट पनि देश विकासका लागि भुमिका खेल्न उनले आग्रह गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको सुधारबाट मात्रै देशमा निरोगीहरु बढ्ने बताए । उनले कृषिमा व्यापक विषादी र रासायनिक मलको प्रयोग हुने गरेको भन्दै त्यही कारण आँखा लगायतका गम्भिर प्रकृतिका रोगहरु बढेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा साँसद कृष्णभक्त पोखरेल, प्रदेश सभा साँसद विजय सुवेदी, घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल नेत्र ज्योती संघ चितवन शाखाका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।