१६ नम्बर वडालाई सांस्कृतिक र पर्यटकीय वडाको रुपमा विकास गरिने

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्ने भएको छ ।

समग्र नगरलाई नै सांस्कृतिक र पर्यटकीय नगरी बनाउने लक्ष्यलाई ध्यानमा राखेर वडाले आगामी आर्थिक वर्षमा नियमित पूर्वाधार निर्माण, पार्क निर्माणसंगै संस्कृति संरक्षण र पर्यटन विकास कार्यलाई अघि सारेको हो ।

वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसस्थाका प्रतिनिधिहरुलाई सहभागि गराई गरिएको वडा भेलामा वडालाई सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाभेलामा जानकारी दिनुभयो ।

सो वडा भेला आयोजना गरिएको थियो । आगामी आर्थिक वर्षको प्रस्तावित योजनाहरु प्रस्तुत गर्दै वडाअध्यक्ष शाक्यले वडालाई सांस्कृतिक र पर्यटन विकासको नमूना वडाका रुपमा विकास गर्ने लक्ष्यले योजनाहरु अघि सारिएको जानकारी दिनुभयो ।

अधिकाशं मूर्त र अमूर्त संस्कृति सञ्चालन हुने मुख्य थलोको रुपमा रहेकोलाई मध्यनजर गरेर सांस्कृतिक र पर्यटकीय नगरको नमूना वडाका रुपमा विकास गर्न लागिएको वडाअध्यक्ष शाक्यले बताउनुभयो । साविकको १६ र १८ लाई गाभिएर बनाइएको हाल १६ वडा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रसहित महत्वपूर्ण सम्पदा र संस्कृतिले भरिएको छ ।

त्यसैले कला, संस्कृतिका विशेष क्षेत्र वा सांस्कृतिक वडाको रुपमा घोषणा गरी सोही अनुरुप कार्य अघि बढाउन लागिएको पनि वडाअध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

वडाले हस्तकला व्यवसायीहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले बृहत हस्तकला मेला,परम्परागत बाजागाजा, जीवनशैली, संस्कार नेपाल भाषा, लिपिको संरक्षण गर्न र अध्ययन गर्नेहरुलाई लक्षित गरी नेवार लघु सांस्कृतिक संग्रहालय स्थापना गर्ने पनि जनाएको छ ।

त्यसैगरी टोल, स्थान र बस्तीको ऐतिहासिक पृष्ठभूमीसंग जोडिएका नाउँको संरक्षण र पर्यटकहरुको जानकारीलाई समेत सहयोग पुग्ने गरी रञ्जना लिपि, देवनागरी र अंग्रेजी नामाकंन बोर्ड राख्न योजना पनि वडाले अघि सारेको छ ।चालू आर्थिक वर्षमा वडाको विकासको लागि ५० लाख विनियोजित गरिएकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ५० लाख विनियोजित गरिएको छ ।

दिगो र सन्तुलित विकासमा जोड

सो अवसरमा सहभागीहरुले विकास कार्यलाई सन्तुलित, दिगो विकासको अवधारणाले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।समारोहमा ३ नं प्रदेशसभाका सदस्य शोभा शाक्यले ललितपुरको विकासको आधार नै संस्कृति र पर्यटक रहेकोले वडाले सोही अनुरुप योजना अघि सारेको बताउँदै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

वडाका सल्लाहकार डा. सुमित्रा अमात्य विकासले पर्यावरण, संस्कृतिमाथि पर्ने नकारात्मक प्रभावलाई हेरेर दिगो विकासको अवधारणा अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा वडा सदस्य विजय महर्जन, सुप्रभा शाक्यले वडा समितिले सहभागितामूलक विकासलाई जोड दिएकोमा केन्द्रीत गर्दै आ आफनो धारणा राख्नुभयो ।